२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

हिमालयन ट्राभल मार्ट सम्पन्न, सामूहिक रणनीतिमार्फत दिगो पर्यटन विकास गरिने


सञ्चार डबली
  • शुक्रबार, जेठ २३ २०८२
  • 6.5K
    SHARES

  • हिमालयन ट्राभल मार्ट सम्पन्न, सामूहिक रणनीतिमार्फत दिगो पर्यटन विकास गरिने

    काठमाडौं, जेठ २३ । दिगो पर्यटन विकासमा हिमालय मुलुकबीच सामूहिक प्रयास तथा अन्तर्राष्ट्रिय रूपमा गन्तव्य प्रवर्द्धनको रणनीतिलाई फराकिलो बनाउने निष्कर्षसहित अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’ को पाँचौं संस्करण बिहीबार सम्पन्न भएको छ।

    जेठ २० देखि २२ सम्म भएको पर्यटन मार्टमार्फत विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच अनुपम सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर र मूल्यवान उद्योग अन्तरदृष्टिलाई बढावा दिने विश्वास लिइएको छ।

    नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घसंस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका साझेदार संस्थासँगको सहकार्यमा मार्ट आयोजना गरेको हो।

    मार्टमा ३० भन्दा बढी मुलुकबाट १०० भन्दा बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी सात सय प्रतिनिधिको सहभागिता थियो।

    मार्टको ठमेलस्थित एलओडी नाइट क्लबमा आयोजित कार्यक्रमबीच समापन गरिएको हो। मार्टमा सहभागी पाहुनाले विभिन्न सांगीतिक प्रस्तुतिका साथै डिजेको बेजोड प्रस्तुतिको आनन्द लिएका थिए। कार्यक्रममा मार्टमा सहभागी विदेशी प्रतिनिधिसहित पाटा नेपालका अध्यक्ष खेम लकाई, नेपाल वायुसेवा निगमका संथागत निर्देशक अनिल घिमिरे, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत, पर्यटन व्यवसायीलगायतको उपस्थिति थियो।

    मार्टमा ‘माउन्टेन माइलस्टोन र मोमेन्टम’ विषयमा सम्मेलन तथा पर्यटनका विविभन्न विषयमा समूहगत छलफल गरिएको थियो। वक्ताहरूले पर्यटन उद्योगको विकासका लागि एकीकृत प्रयास र अभ्यासका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

    उनीहरूले अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविकतायुक्त नेपालको अथाह पर्यटकीय सम्भावनाको उजागर गरी विश्वभरका पर्यटक आकर्षण गर्न समन्वय र सहकार्य जरुरी भएको खाँचो औँल्याए।

    मार्ट संयोजक एवं पाटाका महासचिव नरेन्द्रदेव भट्टले अन्तर्राष्ट्रिय स्रोत बजारमा सशक्त सम्बन्ध सञ्जाल स्थापित गराई नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले पर्यटन मेला आयोजना गरिएको बताए।

    सन् २०१७ देखि प्रत्येक वर्ष जुन महिनामा आयोजना हुँदै आएको एचटीएम नेपालको प्रमुख अन्तरराष्ट्रिय पर्यटन व्यापार मेला हो। कार्यक्रमले विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच अनुपम सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर र मूल्यवान उद्योग अन्तरदृष्टिलाई बढावा दिने विश्वास गरिएको महासचिव भट्टको भनाइ छ।

    सम्मेलनमा २० बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ता र विचारकले आध्यात्मिक, साहसिक र लक्जरी पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गरेका थिए।

    यस्तै, बिटूबी कार्यक्रमअन्तर्गत यस वर्ष एचटीएमले संयुक्त राज्य अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सिआइएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बंगलादेश र श्रीलंका गरी ६ वटा गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ बढी बिक्रेता सहभागी भएको पाटा नेपालले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend