काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन सरकारको उच्च प्राथमिकतामा रहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल सङ्घ नेपाल (हान)का पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई सरकारको बलियो साझेदारका रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्
प्रधानमन्त्री शाहले पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम गरिरहेको उल्लेख गर्दै व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न आग्रह गरे। उनले साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा गर्न सकिने सहकार्यका सम्भावनाबारे अध्ययन गर्न पनि आग्रह गरे। उनले राज्यलाई निजी क्षेत्रको बलियो साझेदारका रूपमा विश्वास गरेर अघि बढ्न व्यवसायीहरूलाई अनुरोध गरे।
छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल पनि सहभागी थिए। सो अवसरमा होटल सङ्घ नेपालका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता राख्दासमेत हाल वार्षिक करिब १२ लाख पर्यटक मात्रै नेपाल भित्रिरहेको जानकारी गराएका थिए। उनीहरूले पर्यटक आगमन बढाउन सके होटल उद्योगले आन्तरिक रोजगारी सिर्जना गर्नुका साथै नेपाली युवाको वैदेशिक पलायन रोक्न महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखे।
व्यवसायीहरूले नेपाललाई आरोग्य पर्यटन, ‘विवाह गन्तव्य’ (वेडिङ डेस्टिनेसन) तथा सीमापार पर्यटनको केन्द्रका रूपमा विकास गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक नीतिगत सुधार गर्न सरकारसँग आग्रह गरेका छन्। होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिनुपर्ने, २५ शय्यासम्मका होटलका लागि अनिवार्य गरिएको सङ्क्षिप्त वातावरणीय मूल्याङ्कन (आईईई) अध्ययनको सीमा ५० शय्यासम्म विस्तार गर्नुपर्ने उनीहरूको माग थियो।
त्यसैगरी, व्यवसायीहरूले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन, नेपाल एयरलाइन्सको सेवा सुधार गर्न तथा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अन्तर्गत ‘ट्रेडमार्क’ प्रयोगबापतको रोयल्टी सम्बन्धी व्यवस्था संशोधन गरी आपसी समझदारीका आधारमा रकम निर्धारण गर्न सकिने प्रावधान ल्याउन आग्रह गरेका छन्। होटल व्यवसायसँग सम्बन्धित अन्य कानुनहरूको पनि पुनरावलोकन र संशोधन आवश्यक रहेको उनीहरूको भनाइ थियो।
उनीहरूले नेपाललाई विवाह गन्तव्यका रूपमा प्रवर्द्धन गर्न विदेशी विवाह समारोहका लागि गरगहना भित्र्याउने प्रक्रिया सहज बनाउन तथा आरोग्य पर्यटन प्रवर्द्धनका लागि फोटो–भिडियोमा मात्र सीमित नरही ‘फुल स्टोरी टेलिङ’ सहितका प्रचार सामग्री र विज्ञहरूको व्यवस्थासमेत गर्न सरकारसँग अनुरोध गरेका थिए।
छलफलमा होटल सङ्घ नेपालका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए।

