काठमाडौं । शुक्रबार रातिदेखि कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लासहित अन्य उच्च हिमाली जिल्लामा हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । आज बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ ।
हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीयले बताए । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ । यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ ।
आज बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ । हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।



