शुक्रबार, जेठ २६, २०८०
काठमाडौ – सहिद स्मारक ए डिभिजन लिग २०७९ को च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग अन्तिम खेलमा हार बेहोरेसँगै फुटबल क्लब खुमलटार रेलिगेसनमा परेको छ । यससँगै दुई नवप्रवेशी क्लबमा चर्च ब्वाइज शीर्षस्थान र खुमलटार पुछारको स्थानमा रहेर ए डिभिजन लिगको पहिलो सिजन अन्त्य गरे ।
एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा १० खेलाडीमा सिमित चर्च ब्वाइजले २-० को जित दर्ता गर्यो । पहिलो हाफमा गरेको २ गोल नै चर्च ब्वाइजको जितमा निर्णायक सावित भयो । यता चर्च ब्वाइजका गोलरक्षक एभ्स प्रिसोले दोस्रो हाफमा रातो कार्ड खाँदा चर्च ब्वाइज १० खेलाडीमा सिमित भएको थियो । चर्च ब्वाइजका लागि सुशील शाह र जोस्पे बेम्पाले १-१ गोल गरे । १२ औं मिनेटमा एरिक विष्टको फ्रिकिक पासमा सुशीलले सुन्दर गोल गरेका थिए ।
पहिलो हाफकै इन्ज्युरी समयमा खेल तनावग्रस्त बनेपछि रेफ्रीले सुरक्षा माग गर्दै खेल स्थगित गरेका थिए । आधा घण्टापछि सुरु भएको खेलमा चर्च ब्वाइजले अर्को गोल थप्यो । इन्ज्युरी समयमा नै चर्च ब्वाइजका लागि बेम्पाले वन भर्सेस वनमा फिनिस गर्दै २-० को अग्रता दिलाए ।यससँगै च्याम्पियन चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोड्दै लिगको अन्त्य गर्यो । खुमलटार भने २६ खेलमा २७ अंकका साथ पुछारमा रहयो ।
यता फ्रेन्ड्स क्लबले अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबलाई ४-० ले पराजित गरेपछि अर्को सिजन ए डिभिजन लिगमा रहने पक्का गरेको छ । एपिएफको यो हारले भने अब थ्री स्टार र एपिएफमध्य एक टोली अर्को सिजन बी डिभिजनमा घटुवा हुने समीकरण बनेको छ । थ्री स्टारले रेलिगेसन टार्न अन्तिम खेलमा शनिबार जावलाखेल युवा क्लबलाई पराजित गर्नुपर्नेछ ।



