गोरखा, ४ पुस । भीमसेन थापा महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका लागि भिआइए परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । स्वास्थ्य कार्यालय गोरखा र गाउँपालिका स्वस्थ्य शाखाको आयोजनामा पौष ५ गते शिविर निशुल्क शिविर सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।
शिविरमा स्त्री रोग, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर परीक्षणका साथै लामो समयको अस्थायी परिवार नियोजन सेवा प्रदान गरिने उहाँले बताउनुभयो । गाउँपलिकाको वडा नम्बर ८ स्थित महादेवटार आधारभूत स्वास्थ्यय सेवा केन्द्रमा शिविरको सञ्चालन हुने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
शिविरमा गत बर्ष भिआइए परीक्षण नगरेका ३० देखि ६० बर्ष उमेरका सवै महिलाहरुले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गराउन सक्नेछन् । त्यस्तै तल्लो पेट दुख्ने, महिनावारीमा समस्या भएका, आङ खस्ने समस्या भएका बिरामीहरुलाई पनि निशुल्क उपचार सेवा प्रदान गरिने उहाँको भनाई छ ।
गाउँपालिकाले हरेक बर्ष पालिका भित्र महिलाहरुको पाठेघरको क्यान्सर रोगको स्क्रिनिङका लागि शिविर सञ्चालन गर्दै आएको छ ।



