२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका छन् ।
आइतवार नेपाल ट्रेड युनियन काँग्रेसको ७७ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका हुन् । उनले राष्ट्रलाई अगाडि बढाउनका लागि श्रमको सम्मान गर्नुपर्ने बताए ।
‘हामीले मलुकलाई अगाडि बढाउनको लागि सबैभन्दा बढी श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडी बढाउनु जरुरी छ । आज हाम्रा जम्मै गाउँघर, पाखाहरु बाँझो छन्,’ उनले भने, ‘हामी विदेशबाट खानेकुरा ल्याएर खाइराखेका छौँ । अरबौँ, खरबौँको आयात गरेका छौँ । धान्ने कसरी हो ? त्यसकारण श्रम गरेर, आफ्नै भूमिमा पाखुरा बजारेर हामीले हाम्रो राष्ट्रलाई उठाउनुपर्छ।’
उनले आफ्नो गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए । उनले आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गरे । वरिष्ठ नेता पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताए ।
वरिष्ठ नेता पौडेलले श्रम गरेर बाँच्न सबै युवालाई आग्रह गरे। श्रम गर्दा शरीरसमेत स्वस्थ रहने भएकाले श्रम गर्न आवश्यक रहेको उनको भनाइ छ।

