२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

त्रिभुवन विमानस्थलमा साढे चार करोडको सुनसहित चिनियाँ नागरिक पक्राउ


सञ्चार डबली
  • बुधबार, मंसिर २ २०८३
  • 1.9K
    SHARES

  • त्रिभुवन विमानस्थलमा साढे चार करोडको सुनसहित चिनियाँ नागरिक पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा घेरा र भन्सार जाँच छलेर नेपाल प्रवेश गर्न खोज्ने एक चिनियाँ नागरिक ठूलो परिमाणको सुनसहित पक्राउ परेका छन्।

    प्रहरीले दिएको जानकारी अनुसार, मङ्गलवार मध्यराति करिब सवा एक बजेको समयमा चीनको जिलिन प्रान्तका ५८ वर्षीय जियानहुआ वाङलाई पक्राउ गरिएको हो। विमानस्थलका सबैजसो सुरक्षा जाँचका तह पार गरेर बाहिर निस्कने तर्खरमा रहेका उनलाई नेपाल प्रहरीको विशेष टोलीले शङ्कास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिएको थियो।

    पक्राउ परेका चिनियाँ नागरिक वाङले अपनाएको तस्करीको शैली निकै अनौठो र चासोको विषय बनेको छ। नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौँ अवतरण गरेका उनले सुन बोक्ने खतरनाक तरिका अपनाएका थिए । सुरक्षा जाँचका क्रममा प्रहरीले उमाथि सूक्ष्म निगरानी राख्दा उनको शरीरभित्र लुकाइएको वस्तुको रहस्य खुल्न आएको हो । जाँचका क्रममा उनले आफ्नै मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाइछिपाई ल्याएको अवस्थामा पहेँलो रङ्गको अर्धठोस पदार्थका चारवटा गोलाकार टुक्रा फेला पारेका थिए ।

    प्रहरीको निगरानी र खानतलासीपछि बरामद गरिएको उक्त पहेँलो अर्धठोस पदार्थलाई तौल गर्दा प्लाष्टिकसहित कुल एक किलो ८०३.७७ ग्राम पुगेको छ। याे भनेका ठ्याक्कै १५४.६४ लाल हाे। बुधबारका लागि ताेकिएकाे सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँका दरले गणना गर्दा यसको कुल बजार मूल्य ४ करोड ३ लाख ४६ हजारभन्दा बढी हुन्छ ।

    विमानस्थलको सुरक्षा संयन्त्रलाई छल्न अपनाइएको यो शैलीले पछिल्लो समय तस्करहरूले अपनाउँदै आएको नयाँ र जोखिमपूर्ण मार्गलाई प्रस्ट्याउँछ ।

    विमानस्थलको भन्सार क्षेत्र पार गरी बाहिरिँदै गर्दा पक्राउ परेका जियानहुआ वाङलाई प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ। बरामद गरिएको परिष्कृत सुनजस्तो देखिने उक्त पदार्थ र पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थलस्थित गौचरको भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

    अन्तर्राष्ट्रिय उडानमार्फत हुने यस्ता अवैध कारोबारमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने आशङ्कासहित प्रहरीले अनुसन्धानलाई थप विस्तार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend