काठमाडौं । बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डमा यही असोजभित्र यातायात सञ्चालनमा आउने भएको छ । असोजभित्र सञ्चालनमा ल्याउने गरि मर्मतलाई तीव्रता दिएको सरकारले जनाएको छ ।
गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत गरिसकिएको छ भने त्यो बीच (देवीघाट)मा एक्रो ब्रिज समेत जडान गरिसकिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । सोही सडकखण्डको विदुरमा क्षतिग्रस्त बनेको सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी ट्रयाक खोल्ने काम सुरु गरिसकेको छ ।
अर्कोतर्फ रसुवाको बेत्रावतीमा आवश्यक बेलीब्रिज जडान गर्न ’फाउण्डेशन’ निर्माण सुरु भएको जनाएको छ । बेत्रावती–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म सडकखण्डमा समस्या नभएको जनाइएको छ । स्याफ्रुबेँसीमा एउटा बेलीब्रिज जडान गर्नुपर्ने देखिएको छ। त्यसका लागि तयारी भइरहेको सरकारले जनाएको छ । साथै यस क्षेत्रमा स्थायी सडक समेत निर्माण गर्ने सरकारको तयारी छ ।



