प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग नेपाल–मलेसिया वैदेशिक रोजगारीका विषयमा विशेष छलफल गरेका छन् ।
प्रधानमन्त्री शाहले मंगलबार बिहान मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत छलफल गरेका हुन् । छलफलका क्रममा उनले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट तथा बिचौलिया प्रथाप्रति आफू र आफ्नो सरकार असन्तुष्ट रहेको स्पष्ट पारे । यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै उनले यसको स्थायी समाधानका लागि दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताए ।
‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन । यसले श्रमिकहरूलाई मारमा पारेको छ,’ प्रधानमन्त्री शाहले भने, ‘त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु ।’
प्रधानमन्त्री शाहको धारणा सकारात्मक रूपमा लिँदै मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विपक्षमा रहेको बताए ।
उनले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्काल नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता व्यक्त गरे ।
‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु । म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु,’ मलेसियाली प्रधानमन्त्री इब्राहिमले भने ।



