काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ६६६ जनाका लागि नयाँ भर्ना आह्वान गरेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालयअन्तर्गत भर्ती तथा छनोट शाखाले नयाँ भर्नासम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो ।
सूचनाअनुसार सशस्त्र प्रहरी जवान पदमा ६०४ जना तथा सशस्त्र प्रहरी परिचरका विभिन्न ट्रेडमा ६२ जना गरी कुल ६६६ जनाका लागि आवेदन खुलाइएको छ ।
सशस्त्र प्रहरी जवानतर्फ खुला प्रतिस्पर्धाबाट ३२६ जना, अमर/अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ जना तथा समावेशीतर्फ महिला, आदिवासी/जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्रका लागि छुट्टाछुट्टै संख्या निर्धारण गरिएको छ । त्यस्तै, सशस्त्र प्रहरी परिचरतर्फ भान्छे, कुचिकार, सुचिकार, केशकर्तक, चर्मकर्मी र माली पदमा समेत आवेदन माग गरिएको छ ।
आवेदन सशस्त्र प्रहरी बल, नेपालले तोकेका कार्यालयहरूमा तथा अनलाइनमार्फत दिन सकिने व्यवस्था गरिएको छ। अनलाइनबाट तोकिएको समयभित्र आवेदन फाराम भरेका सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदका उम्मेदवारले तोकिएको मितिमा सम्बन्धित कार्यालयमा स्वयं उपस्थित भई आवेदन फाराम बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
प्रारम्भिक शारीरिक परीक्षणसम्बन्धी सूचना सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट www.apf.gov.np तथा आधिकारिक फेसबुक पेजमार्फत प्रकाशित गरिने जनाइएको छ ।
आवेदन दिन इच्छुक उम्मेदवारले तोकिएको न्यूनतम योग्यता पूरा गरेको हुनुपर्नेछ। सूचनामा उमेर, शैक्षिक योग्यता, शारीरिक मापदण्ड, नेपाली नागरिकताको प्रमाणपत्रलगायतका विभिन्न योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था पनि उल्लेख गरिएको छ ।



