काठमाडौं । सरकारले रसुवा बाढीबाट प्रभावित भएका ३८ देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन गरिरहेको जनाएको छ।
सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका दूतावाससँग समन्वय गरेर विदेशी नागरिकको तथ्यांक अद्यावधिक भइरहेको जानकारी दिए।
उनका अनुसार सरकारले बाढीपछि उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोग मागेको छ। विशेषगरी सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि दक्ष टनेल रेस्क्यु टोली आवश्यक रहेको उनले बताए।
त्यस्तै, पुरिएका शव खोज्न आधुनिक प्रविधि, शव सुरक्षित राख्न थप फ्रिजर, मृतकको पहिचानका लागि फरेन्सिक सहयोग तथा डीएनए परीक्षणका उपकरण र किट्स आवश्यक रहेको उनले बताए।
केही फ्रिजर प्राप्त भइसकेको र थप केही आउने क्रममा रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।
राहत वितरणका लागि आवश्यक सामग्रीको व्यवस्थापन भइरहेको पनि उनले बताए। दीर्घकालीन पुनर्निर्माण र पुनःस्थापनाका लागि भने ‘विपद्पछिको आवश्यकता मूल्यांकन’ पूरा भएपछि मात्रै थप सहयोगको योजना बनाइने उनले स्पष्ट पारे।



