काठमाडौं। बाढीसम्बन्धी विज्ञले नेपाल र तिब्बतमा आएको आकस्मिक बाढीपछि तत्कालको मुख्य चिन्ता थप नयाँ जोखिम सिर्जना हुनु रहेको बताएका छन्।
युनिभर्सिटी अफ रिडिङका बाढी पूर्वसूचना तथा विपद् जोखिमसम्बन्धी अनुसन्धानकर्ता जेफ डा कोस्टाले विपद्का क्रममा बगेको लेदोले नदीहरू थुनेर माथिल्लो क्षेत्रमा नयाँ तालहरू बनेको बताएका छन्।
उनका अनुसार पहिलो बाढीभन्दा सानो आकारको दोस्रो बाढीले पनि गम्भीर क्षति पुर्याउन सक्ने बीबीसीले लेखेको छ। ‘दोस्रो बाढीले गम्भीर प्रभाव पार्न पहिलो बाढीजत्तिकै ठूलो हुनुपर्दैन,’ उनले बताएका छन्।
डा कोस्टाका अनुसार यस क्षेत्रमा बनेका ताल तथा नदी थुन्ने संरचनाहरूमा भइरहेको परिवर्तनको निरन्तर अनुगमन गर्नु र तीमध्ये कुन फुट्न सक्ने अवस्थामा छन् भन्ने पहिचान गर्नु अहिले अत्यन्त महत्वपूर्ण छ।
उनले चीन र नेपालबीच अनुगमनसम्बन्धी सूचना आदानप्रदान गर्न पनि आवश्यक रहेको बताए। उनका अनुसार माथिल्लो क्षेत्रमा हुने घटनाले सीमापारिका मानिसलाई निकै छोटो समयमै प्रभावित गर्न सक्छ।
‘सूचना पनि त्यति नै तीव्र गतिमा प्रवाह हुनुपर्छ र त्यसले स्थलमै व्यावहारिक निर्णय लिन सहयोग गर्नुपर्छ’ उनले भने।
डा कोस्टाले हिमालय क्षेत्रमा भइरहेको जलवायु परिवर्तनलाई पनि यो विपद्को महत्वपूर्ण पृष्ठभूमिका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार तापक्रम बढ्दै जाँदा हिमनदी, स्थायी रूपमा जमेको जमिन तथा पहाडी भिरको स्थिरतामा परिवर्तन भइरहेको छ।
तर थप विश्लेषण नगरी अहिलेको विपद्लाई जलवायु परिवर्तनकै कारण भएको भनेर निष्कर्ष निकाल्न नसकिने उनले स्पष्ट पारे।



