सुरुङ उद्धार र डीएनए परीक्षण टोलीसहित भारत सरकारले चौथो चरणको सहयोग पठाएको छ । पठाएका सामाग्रीहरु आइतवार बिहान नेपाललाई हस्तान्तरण गरिएको छ ।
भारतीय वायुसेनाको सी–१३० जे हर्कुलिस विमानमार्फत करिब ११ टन राहत सामग्रीसहित सुरुङ उद्धारका लागि भारतीय सेनाको १३ सदस्यीय प्राविधिक टोली नेपाल आएका छन् । टोलीले नेपालका उद्धार टोलीसँग समन्वय गरी सुरुङमा फसेकाको खोज तथा उद्धारमा सहयोग गर्नेछ।
भारत सरकारले बाढीपछि यसअघि तीनपटक राहत सामग्री नेपाल पठाइसकेको छ। ती तीन उडानमार्फत करिब ५७.५ टन राहत सामग्री नेपाल ल्याइएको भारतको विदेश मन्त्रालयले जनाएको छ।
भारतका अनुसार पहिलो चरणमा अगस्ट २६ मा सी–१३० जे विमानमार्फत अस्थायी आश्रयस्थल, कम्बल, स्वच्छता किट, सोलार बत्ती र औषधिसहित १० टन सामग्री पठाइएको थियो। अगस्ट २७ मा सी–१७ ग्लोबमास्टर विमानमार्फत थप ३७.५ टन राहत सामग्री पठाइएको थियो।
अगस्ट २८ मा सी–१३० जे विमानमार्फत भारतीय सेनाको पाँच सदस्यीय सुरुङ उद्धारसम्बन्धी प्रारम्भिक अध्ययन टोली र ६ सदस्यीय मेडिकल टोली नेपाल आएको थियो। सोही उडानमार्फत पोर्टेबल जेनेरेटर, खाद्यान्न, पानी शुद्धीकरणका ट्याब्लेट, औषधिलगायत करिब १० टन सामग्री पठाइएको थियो।
चौथो उडानमा सुरुङ उद्धारका लागि आवश्यक विशेष उपकरणसहित १३ सदस्यीय भारतीय सेना टोली पठाइएको भारतले जनाएको छ। यससँगै मृतकको पहिचानका लागि डीएनए नमुना विश्लेषण गर्न ६ वटा फोरेन्सिक टोलीका १९ जना विज्ञसमेत नेपाल आउँदैछन्।
भारतले नेपालमा सडक तथा यातायात सम्पर्क पुनःस्थापित गर्न आवश्यकताअनुसार बेली ब्रिज र प्राविधिक टोलीसमेत परिचालन गर्ने जनाएको छ। एउटा बेली ब्रिज यसअघि नै नेपाल ल्याइसकिएको र प्रभावित क्षेत्रमा जडान गर्न सकिने भारतले जनाएको छ।
भारतका अनुसार भोटेकोशी बाढीपछि नेपालमा १०८ जना भारतीय नागरिकको उद्धार गरिएको छ भने यसअघि सम्पर्कविहीन करिब ५० भारतीय नागरिकसँग पुनःसम्पर्क स्थापित भएको छ। त्यस्तै चीनबाट पछिल्लो दुई दिनमा ५९८ भारतीय नागरिक सुरक्षित रूपमा नेपाल प्रवेश गरेका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट २६ मै नेपालका प्रधानमन्त्रीसँग कुराकानी गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए। उनले नेपाललाई आवश्यक सबै मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताएका थिए।



