धादिङ । रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण रसुवाका विभिन्न क्षेत्रमा पुगेका धादिङका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सवारी चालक तथा तीर्थयात्रीसहित दर्जनौँ नागरिक सम्पर्कविहीन भएका छन् । सडक तथा सञ्चार सेवा अवरुद्ध हुँदा उनीहरूको अवस्था अझै अज्ञात रहेको छ ।
गोसाइँकुण्ड दर्शनका लागि धादिङबेँसीबाट हिँडेको २६ जना सवार गाडी बेत्रावती पुगेपछि सम्पर्कविहीन भएको जनाइएको छ । उक्त समूहमा एमाले धादिङका नेताहरू दयाराम लम्साल, छविलाल श्रेष्ठ र नारायण लम्सालसहित विभिन्न स्थानीय तहका नागरिक रहेको विवरण प्राप्त भएको छ ।
गोसाइँकुण्ड यात्राकै क्रममा नीलकण्ठ–९ का गुणनिधि सुवेदी (सिताराम) र उनकी श्रीमती तथा रामहरि सुवेदी र उनकी श्रीमती पनि सम्पर्कविहीन रहेको जनाइएको छ । त्यस्तै, थाक्रे–७ का बिसुराम खतिवडा, उनकी श्रीमती, राजु खतिवडा तथा उनका बुवा–आमासहित एकै परिवारका पाँच तीर्थयात्री सम्पर्कविहीन भएको वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिनुभएको छ।
यसैबीच, काठमाडौंबाट रसुवातर्फ गएको बा ८५६५ नम्बरको तीर्थयात्री बस पनि बेत्रावती–स्याफ्रुबेँसी सडकखण्डबाट सम्पर्कविहीन भएको जनाइएको छ।
धुनीबेँसीका सात जना पनि सम्पर्कविहीन
रसुवा बाढीपछि धुनीबेँसी नगरपालिकाका थप सात जना नागरिक पनि सम्पर्कमा आउन सकेका छैनन् । सम्पर्कविहीन हुनेमा धुनीबेँसी–८ का निराजन श्रेष्ठ र राजेन्द्र श्रेष्ठ तथा धुनीबेँसी–६ का राज श्रेष्ठ, किरण भुजेल, जीवन श्रेष्ठ, दशरथ डंगोल र नवराज खत्री रहेका छन् ।
सुरक्षाकर्मी, शिक्षक र बैंक कर्मचारी पनि सम्पर्कविहीन
रोजगारी तथा सरकारी सेवाका क्रममा टिमुरे र स्याफ्रुबेँसी पुगेका धादिङका नागरिकसँग समेत सम्पर्क हुन नसकेको जनाइएको छ ।
प्रहरीतर्फ स्याफ्रुबेँसी प्रहरी चौकीमा कार्यरत गल्छी–४ का बिनोद अधिकारी, इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक हवल्दार निर्मल लामा तामाङ तथा टिमुरेमा कार्यरत नीलकण्ठ–३ का रामहरि खड्का सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
त्यस्तै, नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका शिक्षक सिद्धलेक–५ का सन्तोष श्रेष्ठ, प्रभु बैंक टिमुरे शाखामा कार्यरत बेनिघाट रोराङ–५ का किशोर गौली र बैंक कर्मचारी विमल त्रिपाठीको अवस्थासमेत अज्ञात रहेको छ ।
चालक तथा भन्सारमा कार्यरत नागरिक पनि बेपत्ता
यातायात क्षेत्रमा कार्यरत थाक्रे–११ का डिब्बा चालक राजेन्द्र तामाङ, थाक्रे–७ का राम सुवेदी, सिद्धलेक–५ चालिसेका पर्यटक भ्यान चालक मानबहादुर श्रेष्ठ (सन्दीप), बेनिघाट रोराङ–२ का जितबहादुर चेपाङ (आशिष) र बेनिघाट रोराङ–१० का टेकबहादुर घले पनि सम्पर्कविहीन छन् ।
भन्सारसम्बन्धी कामका लागि टिमुरे पुगेका रुविभ्याली–१ तिप्लिङका शन्तबहादुर घले, मेन्जा तामाङ, आन्त्र तामाङ, राकेश घले र मिङमार (बान्दर) थापा तामाङसँग समेत परिवारको सम्पर्क टुटेको जनाइएको छ ।
सडक तथा सञ्चार सम्पर्क अवरुद्ध रहेकाले सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक संख्या र अवस्थाबारे यकिन विवरण आउन बाँकी छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पार्न परिवार तथा स्थानीयवासीले आग्रह गरेका छन् ।



