चितवन । रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । नेपाल प्रहरीले बुधबार राति ११ः०५ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको जनाएको छ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन् । रसुवागढी प्रहरी चौकीका ९ जनामध्ये एक, स्यार्पुबेंसीका ८ जनामध्ये पाँच, मैलुङका ८ जनामध्ये तीन, बेत्रावतीका १० जनामध्ये नौ र हाकुका ६ जनामध्ये पाँच जना सम्पर्कमा आएका छन् ।
भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली र नारायणी नदीमा ६४ शव फेला परेका छन् । भेटिएका शव सग्लो र शरीरका अंगहरु मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
उनका अनुसार अनुसार तनहुँमा भेटिएका नौ शव चितवन पठाइएको भए पनि यहाँ राख्ने ठाउँ नभएर पुनःतनहुँ नै फिर्ता गरिएको छ । जिल्लास्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा शव खोज्ने काम सुरु गरेका छन् ।
भरतपुर अस्पतालको शवगृहमा शव नअटाए पछि अब भेटिएका शवहरुलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्नेगरी तयारी गरिएको उनले जानकारी दिए ।



