२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एएनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा इम्बार्क कलेज जोडियो, एक खेलाडीले पाउनेछन् १८ लाखसम्मको छात्रवृत्ति


सञ्चार डबली
  • बिहीबार , भदौ ४ २०८३
  • 2.2K
    SHARES

  • images
    एएनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा इम्बार्क कलेज जोडियो, एक खेलाडीले पाउनेछन् १८ लाखसम्मको छात्रवृत्ति

    काठमाडौं, ४ भदौ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुँदै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा इम्बार्क कलेज ‘हायर एजुकेसन पार्टनर’का रूपमा जोडिएको छ। अवार्डको २३औँ संस्करण भदौ १८ गते काठमाडौंमा आयोजना हुँदैछ।

    सम्झौता अनुसार अवार्डका लागि मञ्चले छनोट गर्ने एक जना राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहमा पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ। छात्रवृत्तिको अधिकतम मूल्य १८ लाख रुपैयाँसम्म हुने जनाइएको छ।

    इम्बार्क कलेजले ‘हायर एजुकेसन पार्टनर’का रूपमा अवार्डसँग सहकार्य गर्नुका साथै नेपाल खेलकुद पत्रकार मञ्चको एकेडेमीले सञ्चालन गर्ने अनुसन्धान, प्रशिक्षण तथा मेन्टरसिप कार्यक्रमहरूमा समेत सहयोग गर्ने भएको छ।

    सम्झौतापत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरका तर्फबाट निरज न्यौपानेले हस्ताक्षर गरेका थिए। कार्यक्रममा ठाकुरले खेलाडीको शैक्षिक विकास र खेलकुद क्षेत्रको प्रवर्द्धनमा सहकार्यलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

    नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डलाई नेपाली खेलकुद क्षेत्रका खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा लिइन्छ। यस वर्षको अवार्डको तयारी अन्तिम चरणमा पुगेको मञ्चले जनाएको छ।

    अवार्डअन्तर्गत विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा खेलकर्मीलाई सम्मान गरिनेछ। मञ्चले उत्कृष्ट प्रदर्शन गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने उद्देश्यले विभिन्न विधाका मनोनयनसमेत सार्वजनिक गरिसकेको छ।

    यस वर्ष वर्षका उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट अवार्ड र एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड लगायतका विधामा सम्मान प्रदान गरिनेछ।

    पिपुल्स च्वाइस अवार्डका लागि फुटबलकी पूजा राना, मिक्स्ड मार्सल आर्ट्स (एमएमए) का रविन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र कराँतेकी सानु माया थिङ मनोनयनमा परेका छन्। मनोनयनमा परेका खेलाडीलाई पल्सर स्पोर्ट्स अवार्ड तथा पल्सर नेपालको फेसबुक पेजमार्फत मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

    इम्बार्क कलेजको छात्रवृत्ति कार्यक्रमले खेलकुदसँगै खेलाडीको उच्च शिक्षालाई समेत जोड्ने भएकाले राष्ट्रिय खेलाडीलाई आफ्नो खेल करियरसँगै शैक्षिक यात्रा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस सहकार्यले खेलाडीको प्रतिभा विकाससँगै दीर्घकालीन शैक्षिक अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याउने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend