काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले विद्युतीय फुल एसयूभी नामी भिगो ई२ को मूल्य सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शोको अवधिभर भिगो ई२ लाई ३५ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्ने जनाएको छ ।
नाडा अटो शो सकिएपछि भने यसको नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ हुनेछ । थप सुविधा चाहने ग्राहकले थप ८ लाख रुपैयाँ तिरेर भिगो ई२ प्लस किन्न सक्नेछन् । ई२ प्लसमा मुनरुफ र आर१८ टायर उपलब्ध छन् ।
कम्पनीका अनुसार भिगो ई२ नेपाली बजारलाई लक्षित गरी सहरको दैनिक आवतजावतदेखि लामो दूरीको यात्रासम्मका लागि तयार गरिएको एसयूभी हो । यसमा पाँच जना यात्रु आरामसँग बस्न मिल्ने फराकिलो क्याबिन र ५७२ लिटरको बुट स्पेस रहेको छ। यसको ह्विलबेस २ हजार ७१५ एमएम छ ।
भिगो ई२ मा हिटेड तथा भेन्टिलेटेड सिट, मेमोरी सिट, एक्सटेरियर स्पिकर, ‘हेभन एन्ड अर्थ टेलगेट’ तथा डीजीआई प्रविधिमा आधारित एडीएएसजस्ता सुविधा छन् ।
विद्युतीय एसयूभीमा ५१.८७ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ । कम्पनीका अनुसार यसले डब्लूएलटीपी मापदण्डअनुसार एक पटकको चार्जमा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसमा १९० एमएम ग्राउन्ड क्लियरेन्स र १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा पनि छ ।
कम्पनीले नेपालमा हालसम्म २ हजारभन्दा बढी नामी गाडी सञ्चालनमा रहेको जनाएको छ । भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा र सल्लेरीलगायत विभिन्न भूगोलमा आफ्नो क्षमता प्रदर्शन गरिसकेको दाबी कम्पनीको छ ।
ग्राहकले नाडा अटो शोमा रहेको नामीको स्टल तथा कम्पनीका शोरुममा पुगेर भिगो ई२ हेर्न र बुकिङ गर्न सक्नेछन् । ३५.९९ लाख रुपैयाँको विशेष मूल्य भने नाडा अटो शो सकिएसम्म मात्र लागू हुनेछ ।



