२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भारी वर्षाकाबिच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो, दुई पाङ्ग्रे सवारीसाधनमा पनि बढ्यो आकर्षण


सञ्चार डबली
  • शुक्रबार, साउन २९ २०८३
  • 2.1K
    SHARES

  • images
    भारी वर्षाकाबिच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो, दुई पाङ्ग्रे सवारीसाधनमा पनि बढ्यो आकर्षण

    काठमाडौँ / भारी वर्षाका बाबजुद काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको घुइँचो लागेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा मंगलबारदेखि सुरु भएको एक्स्पोको तेस्रो दिनसम्म ७७ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

    एक्स्पोको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढीले मेला अवलोकन गरेको नाइमाले जनाएको छ । तेस्रो दिन काठमाडौँमा भारी वर्षा भए पनि सवारीसाधन हेर्न तथा खरिदका लागि ठुलो संख्यामा उपभोक्ता एक्स्पोस्थल पुगेका थिए ।

    एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । विभिन्न कम्पनीले नयाँ-नयाँ मोडल सार्वजनिक गर्दै उपभोक्तालाई आकर्षित गरिरहेका छन् । मूल्य, डिजाइन, प्रविधि र सुविधाका हिसाबले धेरै विकल्प उपलब्ध भएपछि आफूलाई उपयुक्त सवारीसाधन छनोट गर्न सहज भएको अवलोकनकर्ताले बताएका छन् ।

    ललितपुरको भैसेपाटीबाट एक्स्पो पुगेका विक्रम सुवेदीले आफ्नो बजेटअनुसार विभिन्न मूल्यका सवारीसाधन एकै ठाउँमा हेर्न पाउनु एक्स्पोको विशेषता रहेको बताए । “१६-१७ लाखदेखि ३ करोडभन्दा बढी मूल्यका चारपाङ्ग्रे सवारीसाधन प्रदर्शनीमा राखिएका रहेछन्,” उनले भने, “जत्रो गोजी छ, त्यस्तै कार चढ्न पाउनु पनि राम्रो कुरा हो ।”

    एक्स्पोमा चार पाङ्ग्रेसँगै दुई पाङ्ग्रे सवारीसाधनमा पनि उल्लेख्य आकर्षण देखिएको छ । विशेषगरी महँगा तथा नयाँ ब्रान्डका मोटरसाइकल र स्कुटरमा युवाको भीड देखिएको छ ।

    अवलोकनकर्ताले सवारीसाधन खरिदअघि ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर–सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी, रिसेल भ्यालु र चार्जिङ सुविधालगायत विषयमा चासो राखिरहेका छन् । कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न नगद छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायत सुविधा उपलब्ध गराएका छन् ।

    नाइमा एक्स्पोमा हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन् । एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ ।

    वित्त र बीमाबारे नाइमा मोबिलिटी संवाद

    एक्स्पोको तेस्रो दिन ‘Mobilizing Mobility through Finance & Insurance’ विषयमा नाइमा मोबिलिटी संवाद आयोजना गरिएको थियो । उद्यमी एवं वित्तीय साक्षरता विज्ञ संजोग कोइरालाले सहजीकरण गरेको संवादमा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदी, ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्याल, एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुर प्यानलिस्टका रूपमा सहभागी थिए ।

    यसअघि बुधबार ‘Learning Sessions’ अन्तर्गत ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा छलफल भएको थियो । एक्स्पोको पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing-Fuel for Economic Growth’ विषयमा अन्तरक्रिया गरिएको थियो । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा विभिन्न विषयमा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुने आयोजकले जनाएको छ ।

    नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो ६ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ । नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनसम्म प्रदर्शनीमा राखिएका छन् ।

    सवारी खरिदकर्तालाई लक्षित गर्दै एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।

    एक्स्पोको को-स्पोन्सरमा ग्लोबल आइएमई बैंक र रेडबुल पावर्डबाईका रूपमा रहेका छन् । बैंकिङ पार्टनरमा एनएमबी बैंक र सिद्धार्थ बैंक रहेका छन् भने इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र एनएलजी इन्स्योरेन्स रहेका छन् ।

    त्यस्तै, बोस (BOSCH) टेक्नोलोजी पार्टनर, ग्लोबल कलेज र एम्बार्क कलेज एजुकेसन पार्टनर, अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स चार्जिङ पार्टनर तथा पठाओ नेपाल राइड पार्टनरका रूपमा रहेका छन् । अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) हाइड्रेसन, द सोल्टी काठमाडौं हस्पिटालिटी, ग्रान्डी इन्टरनेसनल हस्पिटल मेडिकल, भत्सल इम्पेक्स (हिकभिजन) सर्भिलियन्स तथा हिट्को फायर एन्ड सेफ्टी पार्टनर रहेका छन् ।

    को-टिकेटिङ पार्टनरमा आइएमई खल्ती, क्यूआर पार्टनरमा युनियन पे, अडियो–भिजुअल पार्टनरमा पायोनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स, कनेक्टिभिटी पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend