काठमाडौँ । हिमालय अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल कम्पनी डोङफेङ द्वारा उत्पादित दुईवटा बस नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले ७.२ मिटरका दुई मोडलका बस सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार सार्वजनिक गरिएका बसमध्ये एउटा २५ प्लस १ सिट र अर्को २७ प्लस १ सिट क्षमताको रहेको छ । यी बसको मूल्य १ करोड १४ लाख रुपैयाँदेखि सुरु हुने जनाइएको छ । एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० ग्राहकलाई ५ लाख रुपैयाँ विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
डोङफेङ सन् १९६९ मा स्थापना भएको चीनको प्रमुख अटोमोबाइल उत्पादकमध्ये एक हो । कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी तथा विभिन्न अटोमोबाइल पार्टपुर्जा उत्पादन गर्दै आएको छ । डोङफेङका उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको कम्पनीको भनाइ छ ।
हिमालय अर्गनाइजेसनअन्तर्गतका कम्पनीहरूले यसअघि भारतको FORCE MOTORS तथा चीनको SAIC ग्रुपअन्तर्गतको MAXUS का सवारीसाधन नेपालमा बिक्री गर्दै आएका छन् । नेपालमा ठूला विद्युतीय बसको माग बढ्दै गएको र सरकारले पनि विद्युतीय सार्वजनिक यातायातलाई प्राथमिकता दिन थालेको अवस्थामा डोङफेङका बस नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ग्राहकको मागअनुसार बसमा थप सुविधा र परिमार्जन गर्न सकिनेछ । हाल सार्वजनिक गरिएको बसमा नभएको एसी (Air Conditioning) ग्राहकको मागअनुसार थप जडान गर्न सकिनेछ । त्यस्तै Luxury Seat पनि ग्राहकको आवश्यकताअनुसार उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
बसमा ग्राहकको मागअनुसार एक वा दुईवटा अतिरिक्त प्रवेशद्वार जडान गर्न सकिनेछ । दुईवटा प्रवेशद्वार राख्दा दुई सिट घट्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
डोङफेङका बसमा ५ वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराइएको छ । ग्राहकले थप तीन वर्षको Extended Warranty समेत खरिद गर्न सक्नेछन् ।
कम्पनीले निकट भविष्यमा डोङफेङका ८.२ मिटरका स्कुल बस, ९ मिटरका ३८ सिटे तथा १२ मिटरका ५२ सिटे बस पनि नेपाल ल्याउने तयारी गरेको जनाएको छ । ती मोडलको मूल्य तथा अन्य प्राविधिक विवरण भने पछि सार्वजनिक गरिने कम्पनीको भनाइ छ ।
कम्पनीले आगामी दिनमा सार्वजनिक गर्ने बसहरू नेपालमा उपलब्ध अन्य ब्रान्डका तुलनामा प्रतिस्पर्धी मूल्यमा ल्याउने तयारी गरेको जनाएको छ । साथै एक्स्पोमा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुट तथा अफरसमेत उपलब्ध गराइने बताइएको छ ।
बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्सको उपलब्धताका लागि हिमालय अर्गनाइजेसनअन्तर्गतका विभिन्न कम्पनीका शाखा तथा डिलरमार्फत देशका विभिन्न सहरमा सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।



