काठमाडौँ / नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ भव्य रूपमा उद्घाटन भएको छ । मंगलबार नेपाल प्रहरी क्लबस्थित प्रदर्शनी हलमा विशेष कार्यक्रमबीच एक्स्पोको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधनको बिक्री तथा प्रदर्शनीमा मात्र सीमित नभई समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको बताइन् । उनले पटक–पटक परिवर्तन हुने नीतिगत व्यवस्थाका कारण व्यवसायीमा अनिश्चितता बढेको भन्दै निजी क्षेत्रसँग छलफल गरेर मात्रै नीति परिवर्तन गर्न सरकारलाई आग्रह गरिन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई राजस्व संकलनको स्रोतका रूपमा मात्र हेर्न नहुने बताए । उनले नेपालमा अटोमोबाइल क्षेत्रमा उच्च भन्सार दर रहेको उल्लेख गर्दै विद्युतीय सवारीसहित समग्र अटोमोबाइल क्षेत्रका लागि स्थिर नीति आवश्यक रहेको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई ठूलो राजस्व योगदान गर्ने क्षेत्र भएकाले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्र यातायातमा मात्र सीमित नभई आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको बताए । उनले मोबिलिटी क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ७ प्रतिशत योगदान गर्ने दाबी गरे ।
पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । एक्स्पो अवलोकन गर्न मंगलबार मात्रै २९ हजारभन्दा बढी दर्शक पुगेका छन् । आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ ।
एक्स्पोको पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing–Fuel for Economic Growth’ विषयमा प्यानल छलफलसमेत भएको थियो । पूर्वबैंकर अनिलकेशरी शाहको सहजीकरणमा भएको छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्य सहभागी थिए । पहिलो दिनको लर्निङ सेसनमा मात्रै तीन सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डसहित नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षण बनेका छन् । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले सवारी खरिदका लागि विभिन्न विशेष अफर तथा सहुलियत कर्जा पनि उपलब्ध गराएका छन् ।
एक्स्पो अवधिभर Learning Sessions, Policy Dialogues and Industry Interactions लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । साथै, सडक दुर्घटनापछिको प्राथमिक उपचारसम्बन्धी ‘Basic Life Support and Immediate Care After Road Traffic Accidents’ विषयमा ग्रान्डी इन्टरनेसनल हस्पिटलले विशेष प्रस्तुति दिएको छ ।



