२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रोटोन ई.मास ५ : नेपाली सडकका लागि सानो आकारमा ठूलो विद्युतीय सम्भावना, नेपाली बजारमा कस्तो प्रभाव पार्ला ?


सञ्चार डबली
  • मंगलबार, साउन २६ २०८३
  • 3.1K
    SHARES

  • images
    प्रोटोन ई.मास ५ : नेपाली सडकका लागि सानो आकारमा ठूलो विद्युतीय सम्भावना, नेपाली बजारमा कस्तो प्रभाव पार्ला ?

    काठमाडौँ / नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले इलेक्ट्रिक एसयूभी ‘प्रोटोन ई मास फाइभ’ औपचारिक रूपमा सार्वजनिक  गरिसकेको छ । हालै एक कार्यक्रम गर्दै जगदम्बाले २९ लाख ९९ हजार रुपैयाँ सुरुवाती मूल्यमा यो ईभी प्रस्तुत गरेको हो । नेपाल मोबिलिटी एक्सपोमा यो गाडी  आकर्षणको केन्द्र बन्ने निश्चित छ । निकै कम बजेटमा गाडी लिन चाहाने उपभोक्तालाई यसले पूर्ति गर्ने छ ।

    आधुनिक डिजाइन, आकर्षक मूल्य, पर्याप्त रेन्ज र स्मार्ट प्रविधिसहित आएको यो एसयूभीले नेपाली विद्युतीय सवारी बजारमा नयाँ विकल्पसहित थपेको छ।

    मलेसियाली अटोमोबाइल निर्माता प्रोटोनले विकास गरेको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रोटोन ई.मास ५ नेपालमा सार्वजनिक भएसँगै विद्युतीय एसयूभीको बजारमा नयाँ प्रतिस्पर्धा सुरु भएको चर्चा सुरु भएको  छ।

    ई.मास ५ प्राइमको सुरुआती मूल्य २९ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नियमित मूल्य भने क्रमशः ३२ लाख ९९ हजार र ३६ लाख ९९ हजार रुपैयाँ रहेको छ।

    WhatsApp Image 2026-08-11 at 15.45.10.jpeg
    undefined

    सानो आकार, आकर्षक डिजाइन

    ई.मास ५ लाई सहरी प्रयोगलाई केन्द्रमा राखेर विकास गरिएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हो। यसको लम्बाइ ४,१३५ मिलिमिटर, चौडाइ १,८०५ मिलिमिटर र उचाइ १,५८० मिलिमिटर रहेको छ। यसको ह्विलबेस २,६५० मिलिमिटर छ।

    कम्प्याक्ट आकारका कारण सहरी सडक र पार्किङमा सहज हुने अपेक्षा गरिएको ई.मास ५ मा १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स दिइएको छ। यसले नेपालको तुलनात्मक रूपमा असमान सहरी तथा उपत्यकाबाहिरका सडकमा समेत प्रयोगका लागि व्यावहारिक बनाउने देखिन्छ।

    यसको अर्को विशेषता हो—७० लिटर क्षमताको फ्रंक। विद्युतीय सवारीमा इन्जिन नभएको स्थानलाई अतिरिक्त भण्डारणका रूपमा प्रयोग गरिएको हुँदा सामान राख्न थप सुविधा मिल्छ।

    दुई भेरियन्ट, दुई फरक अनुभव पाउन सकिने

    प्रोटोन ई.मास ५ मा ग्राहकको आवश्यकता र बजेट अनुसार दुई विकल्प छन्।
    प्राइम भेरियन्टमा ५८ किलोवाटको मोटर र ३०.१२ किलोवाट–घण्टा क्षमताको सीएटीएल एलएफपी ब्याट्री प्रयोग गरिएको छ। यसले डब्लुएलटीपी मापदण्डअनुसार २२५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ। ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति लिन यसलाई ४.४ सेकेन्ड लाग्छ।

    अर्कोतर्फ, प्रिमियम भेरियन्ट अझ शक्तिशाली छ। यसमा ८५ किलोवाटको रियर–ह्विल ड्राइभ मोटर र ४०.१६ किलोवाट–घण्टा सीएटीएल एलएफपी ब्याट्री जडान गरिएको छ। यसको डब्लुएलटीपी रेन्ज ३२५ किलोमिटरसम्म रहेको छ। ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति मात्र ३.९ सेकेन्डमा लिन सक्ने भएकाले प्रिमियम भेरियन्ट प्रदर्शनका हिसाबले पनि आकर्षक देखिन्छ।

    WhatsApp Image 2026-08-11 at 15.45.09 (1).jpeg
    undefined

    एलएफपी ब्याट्रीमा विशेष जोड

    दुवै भेरियन्टमा सीएटीएलको एलएफपी ब्याट्री प्रयोग गरिएको छ। विद्युतीय सवारीमा ब्याट्री नै मुख्य प्रविधिगत पक्ष भएकाले प्रोटोनले विश्व बजारमा स्थापित ब्याट्री निर्माता सीएटीएलको ब्याट्री प्रयोग गर्नु ई.मास ५ को महत्वपूर्ण पक्ष हो।

    ब्याट्री क्षमतामा भने प्राइम र प्रिमियमबीच स्पष्ट अन्तर छ। प्राइममा ३०.१२ किलोवाट–घण्टा ब्याट्री हुँदा प्रिमियममा ४०.१६ किलोवाट–घण्टा ब्याट्री दिइएको छ। यही कारण प्रिमियम भेरियन्टले लामो रेन्ज प्रदान गर्छ।

    २१ मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज

    ई.मास ५ मा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यसबाट ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब २१ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ।

    छोटो समयमै चार्ज गर्न सकिने क्षमताले विशेषगरी लामो दूरीमा यात्रा गर्ने तथा सार्वजनिक चार्जिङ स्टेसन प्रयोग गर्ने ग्राहकका लागि सुविधा थप्नेछ।

    यसमा ३.३ किलोवाटको भेहिकल–टु–लोड (भीटुएल) सुविधा पनि छ। यसको माध्यमबाट गाडीको ब्याट्रीबाट बाहिरी विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ। क्याम्पिङ, आउटडोर गतिविधि वा विद्युत् आवश्यक पर्ने अन्य अवस्थामा यस्तो सुविधा उपयोगी बन्न सक्छ।

    सुरक्षामा पनि प्राथमिकता दिएको दाबी

    ई.मास ५ को सुरक्षा पक्षलाई पनि प्राथमिकता दिइएको छ। ६ वटा एयरब्याग दुवै भेरियन्टमा उपलब्ध गराइएको छ। त्यसैगरी प्रिमियम भेरियन्टमा लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) उपलब्ध छ। यसले चालकलाई विभिन्न अवस्थामा सहयोग गर्ने प्रविधिहरू उपलब्ध गराउँछ।

    विद्युतीय सवारीको प्रतिस्पर्धा केवल रेन्ज र मूल्यमा सीमित नरहेको अवस्थामा सुरक्षा तथा चालक सहायता प्रविधि ई.मास ५ को महत्वपूर्ण आकर्षण बन्न सक्छ।

    नेपाली बजारमा कस्तो प्रभाव पार्ला?

    नेपालमा विद्युतीय सवारीको माग बढ्दै जाँदा ग्राहकको रोजाइ पनि विस्तार हुँदै गएको छ। विशेषगरी ३०–३५ लाख रुपैयाँको मूल्य वर्गमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी खोज्ने ग्राहकका लागि ई.मास ५ ले नयाँ विकल्प प्रस्तुत गरेको छ।

    प्राइम भेरियन्टको २९ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्य र प्रिमियमको ३४ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यले यसलाई बजारमा प्रतिस्पर्धी बनाउन खोजेको देखिन्छ। अझ प्रिमियम भेरियन्टमा ३२५ किलोमिटर डब्लुएलटीपी रेन्ज, ८५ किलोवाट मोटर, रियर–ह्विल ड्राइभ र लेभल–२ एडीएएसजस्ता सुविधा भएकाले यसले मूल्यसँगै फिचरका आधारमा पनि ग्राहक आकर्षित गर्ने लक्ष्य राखेको छ।

    प्रोटोनका लागि नेपाल नयाँ बजार भए पनि ई.मास ५ मार्फत कम्पनीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउने प्रयास गरेको छ। अब यसको वास्तविक सफलता भने बिक्रीपछिको सेवा, चार्जिङ पूर्वाधार, स्पेयर पाट्र्सको उपलब्धता र ग्राहकको अनुभवले निर्धारण गर्नेछ । तर, कम्पनीको दाबी छ कि बिक्रीपछिको सेवालाई पनि पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने संकल्प छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend