– दीपक थपलिया, जनरल म्यानेजर, हुन्डाई मोटर्स नेपाल
काठमाडौँ । नेपालको अटोमोबाइल बजार पछिल्ला केही वर्षयता उतारचढावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। आर्थिक गतिविधिमा आएको सुस्तता, उच्च ब्याजदर, कर्जा प्रवाहमा देखिएको संकुचन तथा उपभोक्ताको घट्दो क्रयशक्तिले अटो बजारमा प्रत्यक्ष प्रभाव पारेको थियो। पछिल्लो समय भने बैंकिङ प्रणालीमा पर्याप्त तरलता, ब्याजदरमा आएको कमी र आर्थिक गतिविधि विस्तारै चलायमान हुन थालेसँगै अटो बजारमा पनि सुधारका संकेत देखिन थालेका छन्।
यद्यपि, बजारमा प्रतिस्पर्धा भने पहिलेभन्दा निकै तीव्र भएको छ। विशेषगरी विद्युतीय सवारीको बढ्दो मागसँगै चिनियाँलगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपाली बजारमा प्रवेश गरेका छन्। उपभोक्ताका लागि विकल्प बढेसँगै मूल्य मात्र होइन, प्रविधि, सुरक्षा, बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता, पुनर्बिक्री मूल्य र दीर्घकालीन स्वामित्व लागत पनि खरिद निर्णयका महत्वपूर्ण आधार बन्न थालेका छन्।
यही परिवर्तित बजारलाई ध्यानमा राख्दै नेपालमा लामो समयदेखि स्थापित हुन्डाईले पनि आफ्नो रणनीतिलाई विस्तार गरिरहेको छ। नेपालमै एसेम्बली भइरहेको हुन्डाई भेन्यु, पहिलोपटक नेपाली बजारमा प्रस्तुत हुन लागेको भेन्यु एन लाइन, विद्युतीयतर्फको फ्ल्यागशिप आयोनिक ९, क्रेटाको आईसीई तथा ईभी संस्करण र प्रवेश स्तरको ग्रान्ड आई१० नियोस मार्फत कम्पनीले एउटै प्रविधिमा मात्र निर्भर नभई विभिन्न पावरट्रेनमा ग्राहकलाई विकल्प दिने रणनीति अघि सारेको छ।
लगातार केही साताको अन्तरालमा नाइमा र नाडा अटो शो आयोजना हुँदै गर्दा नेपाली अटो बजार थप चर्चामा छ। अघिल्लो वर्ष नाइमा अटो शोमा उल्लेख्य सफलता हासिल गरेको हुन्डाईले यस वर्ष अझ ठूलो तयारी गरेको छ। आगामी दिनमा नेपालमा स्थानीय एसेम्बली विस्तार, विद्युतीय तथा हाइब्रिड सवारीको रणनीति, नयाँ चिनियाँ ब्रान्डसँगको प्रतिस्पर्धा र सन् २०३० सम्मको दीर्घकालीन योजनाबारे हुन्डाई मोटर्स नेपालका जनरल म्यानेजरदीपक थपलियासँग गरिएको कुराकानीको सम्पादित अंश ः
लगातार केही साताको अन्तरालमा नाइमा र नाडा अटो मेला हुँदैछन्। अघिल्लो वर्ष नाइमा अटोमा हुन्डाईले राम्रो सफलता हासिल गरेको थियो। यस वर्षको तयारी कस्तो छ ?
नाइमा र नाडा दुवै अटो शो हाम्रो लागि केवल व्यापारिक कार्यक्रम मात्र होइनन्। नेपाली ग्राहकसँग प्रत्यक्ष संवाद गर्ने र बजारको आवश्यकता बुझ्ने महत्वपूर्ण अवसर पनि हुन्।
यस वर्ष हाम्रो मुख्य आकर्षण नेपालमै एसेम्बल गरिएको हुन्डाई भेन्यु हुनेछ। यससँगै पहिलोपटक भेन्यु एन लाइन नेपाली बजारमा प्रस्तुत गर्दैछौं, जसले स्पोर्टी ड्राइभिङ अनुभव रुचाउने ग्राहकलाई नयाँ विकल्प दिनेछ।
विद्युतीय सवारीतर्फ हाम्रो फ्ल्यागशिप आयोनिक ९ पनि अटो शोको प्रमुख आकर्षणमध्ये एक हुनेछ। त्यस्तै, क्रेटालाई आईसीई र ईभी दुवै संस्करणमा तथा प्रवेश स्तरमा ग्रान्ड आई१० नियोस पनि प्रदर्शन गरिनेछ।
यस वर्ष हामी केवल नयाँ गाडी प्रदर्शन गर्नेभन्दा पनि ‘वन ब्रान्ड, मल्टिपल पावरट्रेन सोलुसन्स’ भन्ने अवधारणा प्रस्तुत गर्दैछौं। ग्राहकको आवश्यकता एउटै हुँदैन, त्यसैले हामी पनि एउटै समाधानमा विश्वास गर्दैनौं।
अहिले नेपाली अटो बजारको समग्र अवस्था तपाईंले कसरी मूल्यांकन गर्नुभएको छ ?
विगत केही वर्षको तुलनामा बजार विस्तारै सुधारतर्फ अघि बढिरहेको देखिन्छ। बैंकको ब्याजदर घट्नु, वित्तीय प्रणालीमा तरलता बढ्नु र आर्थिक गतिविधि विस्तारै चलायमान हुनु सकारात्मक संकेत हुन्।
तर बजार अझै पूर्ण रूपमा सामान्य अवस्थामा पुगेको भन्न मिल्दैन। ग्राहकहरू अहिले निकै सचेत भएर खरिद निर्णय गरिरहेका छन्। उनीहरूले मूल्य मात्र हेर्दैनन्। ब्रान्डको विश्वसनीयता, बिक्रीपछिको सेवा, पुनर्बिक्री मूल्य, स्पेयर पार्ट्सको उपलब्धता र दीर्घकालीन स्वामित्व लागतलाई पनि उत्तिकै महत्व दिन थालेका छन्।
यसले नेपाली अटो बजारलाई अझ परिपक्व बनाइरहेको हामीले महसुस गरेका छौं।
गाडीको उपभोग घटेको चर्चा हुन्छ, तर हरेक वर्ष ठूलो संख्यामा गाडी नेपाल भित्रिरहेका छन्। यसलाई कसरी बुझ्ने ?
गाडी आयात भएको तथ्य मात्र हेरेर बजार राम्रो वा नराम्रो छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन। आयात गरिएका सबै गाडी तत्काल ग्राहकसम्म पुगिसकेका हुँदैनन्। धेरै कम्पनीहरूले भविष्यको मागलाई ध्यानमा राखेर स्टक पनि राखेका हुन्छन्।
अर्कोतर्फ, अहिले बजारमा प्रतिस्पर्धा निकै बढेको छ। पहिलेको तुलनामा धेरै ब्रान्ड र धेरै मोडल उपलब्ध छन्। त्यसैले बिक्री विभिन्न कम्पनी र मोडलमा विभाजित भएको छ।
त्यसैले अहिलेको बजारलाई हामी ‘भोल्युम ड्रिभन’ भन्दा ‘भ्यालु ड्रिभन मार्केट’ भन्न रुचाउँछौं। ग्राहकको निर्णय अझ बढी सोचविचारपूर्ण भएको छ, जुन दीर्घकालीन रूपमा सकारात्मक संकेत हो।
हुन्डाईले नेपालमै एसेम्बली गरिरहेको छ। स्थानीय एसेम्बलीको अनुभव कस्तो छ ? अन्य कम्पनीहरू किन यसतर्फ अपेक्षित रूपमा अघि बढ्न सकेका छैनन् ?
स्थानीय एसेम्बली भनेको केवल कारखाना स्थापना गर्ने विषय होइन। यसका लागि ठूलो लगानी, अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्ने क्षमता, दक्ष जनशक्ति, स्थिर नीति, पर्याप्त बजार र दीर्घकालीन प्रतिबद्धता आवश्यक हुन्छ।
नेपालमा हुन्डाईको एसेम्बली सफल हुनुको एउटा प्रमुख कारण हामीले यसलाई छोटो अवधिको व्यावसायिक निर्णयका रूपमा नभई दीर्घकालीन लगानीका रूपमा हेर्नु हो।
निश्चित रूपमा नीतिगत स्थिरता अझ बलियो हुन सकेमा धेरै अन्तर्राष्ट्रिय कम्पनीहरू पनि नेपालमा उत्पादन वा एसेम्बली गर्न थप आकर्षित हुन सक्छन्। उद्योगलाई दीर्घकालीन नीति र पूर्वानुमानयोग्य व्यावसायिक वातावरण उपलब्ध गराउनु अत्यन्त महत्वपूर्ण छ।
पछिल्लो समय चिनियाँ ब्रान्डको प्रवेश र ईभीको बढ्दो लोकप्रियताले प्रतिस्पर्धा निकै तीव्र बनाएको छ। हुन्डाईले यसलाई कसरी हेरेको छ ?
हामी प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिन्छौं। स्वस्थ प्रतिस्पर्धाले ग्राहकलाई अझ राम्रो उत्पादन, राम्रो प्रविधि र राम्रो सेवा उपलब्ध गराउँछ।
हाम्रो विश्वास एउटा कुरामा स्पष्ट छ—एउटै पावर सोर्सले सबै ग्राहकको आवश्यकता पूरा गर्न सक्दैन। त्यसैले हुन्डाईले आईसीई, हाइब्रिड, पीएचईभी र बीईभी सबै प्रविधिको विकासमा लगानी गरिरहेको छ।
त्यही दर्शनलाई लक्ष्मी ग्रुपले पनि आत्मसात गरेको छ। त्यसैले हुन्डाईसँगै पीएचईभीका लागि जेटोर, हाइब्रिडका लागि बीएआईसी, प्रिमियम बीईभीका लागि आर्कफक्स र प्रवेश स्तरको ईभी सेग्मेन्टका लागि काइयी जस्ता ब्रान्डहरू रहेका छन्।
हामी ब्रान्डको संख्या बढाउन मात्र चाहँदैनौं। ग्राहकको आवश्यकता र बजेटअनुसार सही समाधान उपलब्ध गराउन चाहन्छौं।
सन् २०३० सम्म नेपालका लागि हुन्डाईको दीर्घकालीन रोडम्याप के हो ?
हाम्रो लक्ष्य केवल बजार हिस्सा बढाउनु मात्र होइन। सन् २०३० सम्म हुन्डाई नेपाललाई सबैभन्दा विश्वसनीय मोबिलिटी ब्रान्ड बनाउने हाम्रो उद्देश्य छ।
यसका लागि हामी मुख्यतः चार क्षेत्रमा ध्यान केन्द्रित गरिरहेका छौं।
पहिलो, नेपालमै एसेम्बली विस्तार गर्दै स्थानीय उत्पादनलाई थप मजबुत बनाउने।
दोस्रो, ग्राहकको आवश्यकता र बजारअनुसार आईसीई, हाइब्रिड, पीएचईभी र बीईभी सबै प्रकारका समाधान उपलब्ध गराउने।
तेस्रो, चार्जिङ पूर्वाधार, डिजिटल सेवा, स्पेयर पार्ट्स र बिक्रीपछिको सेवामा निरन्तर लगानी गर्ने।
र चौथो, सुरक्षित, वातावरणमैत्री र दिगो मोबिलिटीलाई नेपालमा थप सहज र विश्वसनीय बनाउने।
हामी केवल गाडी बेच्ने कम्पनी होइन, नेपालको मोबिलिटी इकोसिस्टम निर्माण गर्ने साझेदार बन्न चाहन्छौं।
अहिले सरकार बलियो छ, बैंकिङ प्रणालीमा तरलता पर्याप्त छ र ब्याजदर पनि घटेको छ। त्यसका बाबजुद अपेक्षाअनुसार अटो क्षेत्रमा लगानी किन बढ्न सकेको छैन ?
तरलता र कम ब्याजदर निश्चित रूपमा सकारात्मक पक्ष हुन्। तर ती मात्रै लगानी बढाउन पर्याप्त हुँदैनन्।
व्यवसायी र ग्राहक दुवैले सबैभन्दा बढी खोज्ने कुरा भनेको विश्वास र नीतिगत स्थिरता हो। लगानीकर्ताले पाँच वा दस वर्षको दृष्टिकोणले निर्णय गर्छन्। त्यसैले कर नीति, भन्सार नीति, ईभीसम्बन्धी नीति तथा नियामकीय व्यवस्था स्थिर र पूर्वानुमानयोग्य हुनु आवश्यक हुन्छ।
जब बजारमा दीर्घकालीन नीतिगत स्पष्टता हुन्छ, उद्योगले लगानी बढाउँछ, बैंकले सहज रूपमा वित्तीय सहयोग गर्न सक्छन् र ग्राहकले पनि ढुक्क भएर खरिद निर्णय गर्न सक्छन्।
हामीलाई विश्वास छ, सरकार, निजी क्षेत्र र बैंकिङ क्षेत्रबीच निरन्तर समन्वय हुन सके नेपाली अटोमोबाइल उद्योगले आगामी केही वर्षमा अझ बलियो गति लिनेछ।



