गोरखा । भिमसेनथापा गाउँपालिकाले जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई लक्षित गर्दै विगत चार वर्षदेखि घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखा अन्तर्गत स्वास्थ्यकर्मीको टोलीले सेवाग्राहीको घरमै पुगेर सुगर, प्रेसर लगायत अन्य स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श र नियमित सेवन गर्नुपर्ने औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ।
यस कार्यक्रमबाट स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ हुने जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध हुँदा समयमै रोगको पहिचान, उपचार र नियमित स्वास्थ्य निगरानीमा समेत सहजता भएको स्थानीयहरूको भनाइ छ।
त्यसैगरी, बोर्लाङ स्वास्थ्य चौकीबाट विभिन्न रोगहरूको निःशुल्क रगत परीक्षण (ल्याब टेस्ट) सेवा पनि नियमित रूपमा सञ्चालन हुँदै आएको छ। यस सेवाले स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याएको छ।
जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमलाई भिमसेनथापा गाउँपालिकाको प्रभावकारी र जनमुखी स्वास्थ्य पहलका रूपमा हेरिएको छ।



