धनगढी। अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ ।
बिहीबारदेखि धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनशन बसिरहेका डा.केसीको स्वास्थ्य कमजोर बन्दै गएपछि उनलाई सेती प्रादेशिक अस्पताल लैजान लागिएको हो ।
चिकित्सकका अनुसार परीक्षणका क्रममा उनको रक्तचाप ११०र९० र रगतमा सुगरको मात्रा ५० देखिएको छ । सुगरको मात्रा निकै कम भएकाले तत्काल उपचार आवश्यक रहेको उनीहरूको भनाइ छ ।
यता, डा.केसी अनशन बसेको कृष्ण मन्दिर धर्मशालाबाहिर केही व्यक्तिले ‘गोविन्द केसी गो ब्याक’ भन्दै प्रदर्शन गरेका छन् । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले उनको अनशन फिर्ता लिन आग्रह गरेका छन् ।
यसअघि शुक्रबार शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले डा.केसीलाई फोन गरेर उनका जायज मागबारे वार्ता गर्न सरकार तयार रहेको र अनशन अन्त्य गर्न आग्रह गरेका थिए ।
डा.केसी पाँचबुँदे माग राख्दै बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशन बसिरहेका छन् ।

