२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार


सञ्चार डबली
  • आइतबार, साउन ३ २०८३
  • 2.6K
    SHARES

  • इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार

    काठमाडौं । पूर्वी इन्डोनेसियाको समुद्रमा डुबेको यात्रुवाहक डुङ्गाका पाँच यात्रुलाई तीन दिनसम्म समुद्रमा तैरिएपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये सात वर्षीया बालिका समेत रहेको उद्धार अधिकारीले आइतबार जानकारी दिएका छन् ।

    सत्तरी जनाभन्दा बढी यात्रु बोकेको उक्त डुङ्गा बुधबार सुलावेसी टापुको दक्षिणमा रहेको सेलायार टापु नजिकै डुबेको थियो ।उद्धार गरिएका यात्रुले आफूहरू सुरुमा हराइरहेको भनिएको २५ जनाको समूहमा रहेको बताएका छन्। तर तीव्र हावाका कारण उनीहरू अन्य यात्रुबाट छुट्टिएका थिए ।

    स्थानीय खोज तथा उद्धार अधिकारी मुहम्मद आरिफ अनवरका अनुसार डुङ्गा डुबेपछि उनीहरूले तैरिन सकिने सामग्रीको सहायताले आफूलाई बचाएका थिए । “उनीहरूले प्लास्टिकका ठूला डिब्बा ९जेरी क्यान० र कर्कका टुक्रालाई डोरीले बाँधेर अस्थायी तैरिने साधन बनाए र त्यसैमा बसे,” उनले एएफपीलाई बताए।

    शनिबार दिउँसो स्थानीय माछा मार्नेहरूले उनीहरूलाई उद्धार गरी रेडियोमार्फत अधिकारीलाई जानकारी गराएका थिए । धेरै दिनसम्म पर्याप्त खाना र पानीबिना समुद्रमा रहनुपरेकाले उनीहरू कमजोर र थकित अवस्थामा भेटिएका थिए । यद्यपि, इन्स्ट्यान्ट चाउचाउ र बिस्कुट खाएर आफूलाई जीवित राख्न सफल भएको आरिफले बताए।

    हराइरहेका अन्य यात्रुको खोजी जारी रहेको छ । खोजी अभियानमा पाँचवटा ठूला जहाज, एउटा निगरानी विमान र एउटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धार अधिकारीका अनुसार डुङ्गाको आधिकारिक यात्रु सूचीमा ५० जनाको नाम भए पनि थप अनुसन्धानपछि डुङ्गामा ७८ जना सवार रहेको खुलेको छ।

    इन्डोनेसियामा डुङ्गाको आधिकारिक यात्रु विवरण र वास्तविक यात्रुको सङ्ख्याबिच फरक पर्नु सामान्य मानिन्छ । कमजोर सुरक्षा मापदण्ड र खराब मौसमका कारण यहाँ जलयात्रासम्बन्धी दुर्घटना भइरहन्छन् ।

    यसअघि जनवरीमा पूर्वी इन्डोनेसियाको समुद्रमा डुङ्गा दुर्घटना हुँदा तीन जना स्पेनी पर्यटकको मृत्यु भएको थियो भने एक बालक बेपत्ता भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend