२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

मापदण्ड बिपरित सञ्चालित अस्पताललाई कारवाही गर्ने स्वास्थ्य मन्त्री बस्नेतको प्रतिवद्वता


सञ्चार डबली
  • शुक्रबार, साउन १९ २०८०
  • 8.1K
    SHARES

  • मापदण्ड बिपरित सञ्चालित अस्पताललाई कारवाही गर्ने स्वास्थ्य मन्त्री बस्नेतको प्रतिवद्वता

    १९ श्रावण २०८०, शुक्रबार, काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मापदण्ड बिपरित सञ्चालित अस्पतालहरुलाई कानून बमोजिम कारवाही गरिने बताएका छन् । स्वास्थ्य मन्त्रालयले बिहीबार गरेको उपत्यकाका ८ वटा अस्पतालहरुको अनुगमन पछि अनुगमन टोलीले प्रस्तुत गरेको प्रारम्भिक रिपोर्टका आधारमा अधिकांश अस्पतालहरुले मापदण्ड पालना नगरेको नपाइएको मन्त्री बस्नेतले बताए । उनले भने,‘अनुगमनको प्रारम्भिक रिपोर्ट अनुसार उपत्यकाका अधिकांश अस्पताल मापदण्ड अनुसार चलेको पाइएन । नियम बिपरित सञ्चालित अस्पतालहरुलाई अनुगमन टीमको रिपोर्टका आधारमा कानूनी कारवाही गछौं । ’ मन्त्री बस्नेत स्वयं पनि केही अस्पतालको अनुगमनमा सहभागी भएका थिए । 


    कानून अनुसार अनुगमनका क्रममा नियम विपरित सञ्चालित अस्पतालहरुलाई बन्द गर्न सक्ने अधिकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छ । स्वास्थ्य मन्त्रालयले बिहीबार मन्त्रालयका अतिरिक्त सचिवहरु क्रमशः डा.विकास देवकोटा, डा. टंक बराकोटी, डा. संगीता कौशल मिश्र र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहको नेतृत्वमा ४ वटा टीम बनाएर काठमाडौं, ललितपुर र भक्तपुरका सरकारी र निजी गरि ८ वटा अस्पतालको अनुगमन गरेको थियो । अनुगमन गरिएका अस्पतालहरुमा नेपाल मेडिकल कलेज जोरपाटी, शंकरापुर अस्पताल जोरपाटी, अल्का अस्पताल जावलाखेल, मेडीसिटी अस्पताल भैसेपाटी, कान्ती बाल अस्पताल महाराजगन्ज, मनमोहन सामुदायिक अस्पताल स्वयम्भू, भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पताल गठ्ठाघर भक्तपुर रहेका छन् । अनुगमन टोलीमा प्याथोलोजिष्ट, रेडियोलोजिस्ट, नर्सिङ अधिकृत, फर्मासिस्ट, माइक्रोबायोलोजिष्ट, स्त्री तथा प्रसूतिरोग विज्ञ, सरुवा रोग विज्ञ, मानव संशाधन, अस्पताल व्यवस्थापक सहितका विज्ञहरु सहभागी थिए । 


    अनुगमनका क्रममा अस्पतालहरुले १० प्रतिसत शैयामा विपन्नलाई उपचार दिनु पर्नेमा त्यसो नगरेको, कुल शैयाको १० प्रतिसत आकस्मिक शैया छुट्याउनु पर्नेमा त्यसो नगरेको, आवश्यकता भन्दा बढी शल्यक्रिया मार्फत डेलिभरी गराएको, प्याथलोजी व्यवस्थित नभएको, स्टाफ नर्स तथा सहायक स्तरका कर्मचारीहरुलाई न्यूनतम तलव समेत दिने नगरिएको, फोहोर व्यवस्थापनको उचित व्यवस्थापन नगरेको, वेभ साइडका उपलब्ध सेवा व्यवस्थित गरि नलेखिएको लगायतका थुप्रै नियम विपरित काम भएको पाइएको अनुगमन टोलीका संयोजक अतिरिक्त सचिव डा.टंक बाराकोटीले बताए । कानून विपरित सञ्चालित अस्पतालहरुलाई गरिने कारवाहीका बिषयमा मन्त्रालयले छिट्टै निर्णय गर्ने जानकारी दिए । अनुगमन टोलीका अर्का सदस्य डा. अनुप वास्तोलाले अनुगमन गरिएको एक अस्पतालमा त कति शैयामा सञ्चालित छ भन्ने कुरा पत्ता लगाउन समेत घण्टौ लागेको बताए । डा. बास्तोलाले भने, ‘अस्पतालका आधिकारिक व्यक्ति पिच्छे नै फरक फरक जानकारी पाएपछि कति शैयामा सञ्चालित भन्ने बिषयमै अलमलमा परियो । ’ मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि अनुगमनलाई अगाडि बढाएका छन् । केही दिन पहिले मन्त्री बस्नेतकै निर्देशनमा औषधि व्यवस्था विभागले पनि देशका ७७ वटै जिल्लाका फार्मेसी अनुगमनलाई तिब्रता दिएको थियो । यो क्रम अहिले पनि जारी छ । अस्पतालले पुर्याइरहको उपचार सेवाका बिषयमा अनुगमन निरन्तर जारी रहने मन्त्रालयले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend