काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्रको अन्तरसङ्घर्ष, विभाजनबाट उत्पन्न निराशाका कारण मुलुकमा ‘पपुलिजम’ को उदय भएको बताएका छन् । शनिवार ललितपुरमा आयोजित ‘एमाले पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले नेकपा एमालेबाट नयाँ पुस्ता मात्र नभई सामाजिक सुरक्षासँग जोडिएको पुरानो पुस्ता समेत टाढिँदै गएको स्वीकार गरेका छन् । उनकाअनुसार भदौ २३ गतेको घटनालाई जुन रूपमा चित्रण गरियो, त्यसले महिलाहरूको मानवीय संवेदनशीलतालाई उद्वेलित बनाएका कारण पार्टीलाई सधैँ साथ दिने दिदीबहिनी तथा आमाहरू समेत टाढिएका छन् ।
महासचिव पोखरेलले नेकपा गठनका समयमा जनतामा जगाइएको आकांक्षा पूरा हुन नसक्नु, पार्टीभित्रको तिब्र अन्तरसङ्घर्ष, नेकपाको विघटन र एमालेको विभाजन नै वर्तमान राजनीतिक निराशाको मुख्य कारण भएको औंल्याएका छन् । उनले पार्टी विभाजनका क्रममा एकले अर्कालाई लगाएका आरोप–प्रत्यारोपले आम जनतामा नकारात्मक सन्देश गएको र त्यही जगमा आजको ‘पपुलिजम’ जन्मिएको विश्लेषण गरेका छन् ।
उनले भने, नेकपा गठनका समयमा हामीले जागृत गरेको आकाङ्क्क्षा, नेकपाभित्रको अन्तरसङ्घर्ष, नेकपाको विघटन र त्यसपछि एमालेको विभाजनका कारण उत्पन्न भएको निराशा नै आजको पपुलिजमको जन्मको एउटा महत्वपूर्ण आधार हो । त्यस अर्थमा हामीले के बुझ्नुपर्छ भने, आज पपुलिजम किन जन्मियोरु यसको एउटा प्रमुख कारण नेकपा गठन, नेकपाभित्रको अन्तरसङ्घर्ष, नेकपाको विघटन र त्यसपछि नेकपा एमालेको विभाजनका क्रममा एकले अर्कामाथि लगाइएका आरोप–प्रत्यारोप हुन् ।’

