२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

उपत्यकामा बर्डफ्लु नियन्त्रणका लागि प्राविधिक टोली परिचालन


सञ्चार डबली
  • शुक्रबार, असार १२ २०८३
  • 1.5K
    SHARES

  • उपत्यकामा बर्डफ्लु नियन्त्रणका लागि प्राविधिक टोली परिचालन

    काठमाडौं । पशुसेवा विभागले काठमाडौं उपत्यका र यसको आसपासका क्षेत्रमा बर्डफ्लु संक्रमण थप फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको प्रयास तीव्र पारेको छ। संक्रमणको अवस्था बुझ्न विभागले विभिन्न प्रयोगशालाहरू मार्फत नियमित रूपमा नमुना परीक्षण गर्दै उच्च निगरानी बढाएको हो।

    विशेष गरी काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला संक्रमणको उच्च जोखिममा रहेकाले रोग नियन्त्रण कार्यलाई प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिए। उनका अनुसार विगत तीन महिनाअघि सुरु भएको यो संक्रमण हालसम्म देशका ११ जिल्लामा फैलिसकेको छ।

    अहिलेसम्म करिब एक सय वटा कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भइसकेको छ। संक्रमण देखिएका ती फार्महरूका पन्छी, अण्डा र दाना पूर्ण रूपमा नष्ट गरिएको विभागले जनाएको छ। संक्रमणको साङ्लो तोड्न विभागले किसानहरूलाई करिब डेढ महिनासम्म फार्ममा नयाँ चल्ला नराख्न आग्रह गर्दै जैविक सुरक्षामा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। उपत्यकाका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण र सूर्यविनायक लगायतका क्षेत्रमा रहेका व्यावसायिक फार्महरूमा संक्रमण पुष्टि भइसकेको छ।

    चिकित्सकहरूका अनुसार बर्डफ्लुको कुनै निश्चित उपचार वा प्रभावकारी खोप उपलब्ध नभएकाले यो भाइरस निकै घातक र संक्रामक मानिन्छ। त्यसैले संक्रमण फैलिएका क्षेत्रका कुखुरा लगायतका पन्छीहरू नष्ट गर्नु नै यसको नियन्त्रणको उत्तम विकल्प हो। यो भाइरस पन्छीबाट मानिसमा समेत सर्न सक्ने जोखिम रहेकाले महानिर्देशक दाहालले पन्छी व्यवसायी तथा उपभोक्ता दुवैलाई थप सजगता अपनाउन आग्रह गरेका छन्।

    अहिले बर्डफ्लु नियन्त्रण कार्यलाई व्यवस्थित बनाउन केन्द्रमा विभागका महानिर्देशकको संयोजकत्वमा र जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को नेतृत्वमा बर्डफ्लु समन्वय समितिहरू गठन गरिएका छन्।

    संक्रमणका कारण क्षति ब्यहोरेका किसानहरूलाई राहत दिने व्यवस्था पनि सरकारले गरेको छ। नष्ट गरिएका कुखुरा, अण्डा र दानाको आधिकारिक प्रमाणका आधारमा जिल्ला समितिले तोकेको दररेट अनुसार लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने विभागका सूचना अधिकारी मुकुल उपाध्यायले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend