काठमाडौँ । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा गम्भीर त्रुटि रहेको दाबी गर्दै विद्यार्थीहरूले पारदर्शी र प्रभावकारी मूल्यांकनको माग गरेका हुन्। नतिजा प्रकाशन प्रक्रिया विश्वसनीय नभएको, उत्तरपुस्तिका परीक्षणमा लापरबाही देखिएको र गुनासो सम्बोधन गर्ने संयन्त्र नभएको उनीहरूको आरोप छ।
विद्यार्थीहरूको यस विरोध प्रदर्शनपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बोर्डको परीक्षा र नतिजा प्रकाशन प्रक्रिया स्पष्ट एवं विश्वसनीय रहेको दाबी गरेका छन्। उनले नतिजा समयमै ल्याउन कुनै हतारो नगरिएको प्रष्ट पारेका छन्। आवश्यक जनशक्ति थपेर र अनावश्यक प्रशासनिक झन्झटहरूलाई छोट्याएर निर्धारित समयमै नतिजा सार्वजनिक गरिएको मन्त्री पोखरेलको भनाइ छ।
शिक्षामन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आफ्ना माग र धारणा राख्न पाउनु लोकतान्त्रिक समाजको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै विद्यार्थीहरूको आन्दोलनप्रति सम्मान व्यक्त गरेका छन्। यसका साथै आन्दोलनरत विद्यार्थीहरूलाई लक्षित गरी सामाजिक सञ्जालमा गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न समेत उनले सबैलाई आग्रह गरेका छन्।
नतिजालाई लिएर देखिएको विवाद समाधान गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले कदम चालेको छ। मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको नमुना परीक्षण र डेटा इन्ट्री प्रमाणीकरणका लागि एक विशेष समिति गठन गरिएको मन्त्री पोखरेलले जानकारी दिएका छन्।



