२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

कर्णाली प्रदेशको ३५ अर्ब ३९ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्च ५५ प्रतिशतभन्दा बढी


सञ्चार डबली
  • सोमबार, असार १ २०८३
  • 4.6K
    SHARES

  • कर्णाली प्रदेशको ३५ अर्ब ३९ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्च ५५ प्रतिशतभन्दा बढी

    सुर्खेत / कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।

    प्रस्तुत बजेटमध्ये चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार (२४.३१ प्रतिशत), पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार (५५.३१ प्रतिशत), वित्तीय व्यवस्थातर्फ ५० करोड (१.४१ प्रतिशत) र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार (१५.६७ प्रतिशत) विनियोजन गरिएको छ।

    यो बजेट चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बढी हो। चालु आवमा प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको थियो।

    स्रोत व्यवस्थापनतर्फ आन्तरिक आयबाट ८५ करोड ५ लाख ९० हजार, चालु आर्थिक वर्षको बचतबाट ६ अर्ब ४१ करोड ५१ लाख ९ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ६६ करोड ५० लाख ४९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

    त्यस्तै, संघीय वित्तीय समानीकरण अनुदानबाट १० अर्ब ६३ करोड २३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ६७ करोड २५ लाख, समपूरक अनुदानबाट ६६ करोड ७८ लाख, विशेष अनुदानबाट ४८ करोड ५६ लाख तथा वैदेशिक सहायता बाहेक अन्य वैदेशिक स्रोतबाट ९६ लाख रुपैयाँ परिचालन गरिने बजेटमा उल्लेख छ।

    अर्थमन्त्री शाहले बजेट प्रस्तुत गर्दै ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’को लक्ष्य हासिल गर्न सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखिएको बताए। उनले प्रदेशको आवधिक योजना र नीति तथा कार्यक्रमलाई आधार बनाएर बजेट तयार गरिएको जानकारी दिए।

    बजेटमा कृषि र पूर्वाधारतर्फको विनियोजन घटाइएको छ भने जलस्रोत, ऊर्जा तथा सामाजिक विकासतर्फको बजेट बढाइएको छ। साथै, विगतका केही असफल कार्यक्रमहरूलाई पुनः समेटेर निरन्तरता दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend