काठमाडौँ / कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘इन्फाेसिस फिनाकल इनाेभेसन अवार्ड २०२६’ अन्तर्गत व्यवसायिक मोडेल नवप्रवर्तन विधामा प्लेटिनम विजेताका रूपमा सम्मानित भएको छ।
बैंकले लागू गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रियासम्बन्धी नवप्रवर्तनका लागि उक्त सम्मान प्रदान गरिएको हो। इन्फोसिस फिन्याकलद्वारा प्रत्येक वर्ष प्रदान गरिने यो अवार्ड विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूमा भएका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरण अभ्यासहरूको मूल्यांकन गरी प्रदान गरिन्छ।
यस वर्ष ९ विधामा ५०० भन्दा बढी आवेदन प्राप्त भएका थिए। तीमध्ये कुमारी बैंकले आफ्नो डिजिटल केवाइसी कार्यप्रवाह प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्लेटिनम अवार्ड हासिल गरेको हो।
बैंकका अनुसार उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डको कडाइका साथ पालना सुनिश्चित गर्न सहयोग पुर्याएको छ। साथै, डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई अझ पारदर्शी र विश्वसनीय बनाउन योगदान पुगेको बैंकले जनाएको छ।
यस अन्तर्राष्ट्रिय उपलब्धिसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहक–केन्द्रित बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता थप मजबुत बनाएको छ। बैंकले आगामी दिनमा डिजिटल समाधान विस्तार गर्दै अझ सहज र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।

