काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेटलाई लिएर आकार ठुलो र महत्त्वाकाङ्क्षी भएको भन्दै भइरहेको आलोचनाको खण्डन गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै यस्तो उनले दाबी गरेका हुन् ।
उनले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को अनुपातमा हेर्दा बजेटको आकार जम्मा २८.५ प्रतिशत मात्र रहेको भन्दै उनले यो बजेट सानो र राज्यको क्षमता सुहाउँदो रहेको दाबी गरेका छन् । अर्थमन्त्री डा. वाग्लेले अर्थशास्त्रमा निरपेक्ष अङ्क भन्दा पनि सापेक्षको २१ खर्ब आसपासको बजेट ल्याइएपनि यसलाई ठुलो भनिएको बताएका छन्।
अर्थमन्त्री वाग्लेले नेपालको बजेटको आकार भूकम्प र कोभिड-१९ पछि अस्वाभाविक रूपमा बढेको र अहिले त्यसलाई घटाएर पुरानै यथार्थपरक लयमा फर्काइएको प्रस्ट पारेका छन् । उनले ३० प्रतिशतभन्दा माथि पुगेको बजेटको ट्रेन्डलाई घटाएर राज्यको क्षमता अनुकूल हुने गरी २८.५ प्रतिशतमा सीमित राखिएको भन्दै यो बजेट ठुलो नभएको स्पष्ट पारेका छन् ।
बजेटले मुख्यगरी ५ वटा विषयलाई प्राथमिकतामा राखेको उनले जानकारी दिएका छन् । जसमा सदाचार र असल शासन, शिक्षा र स्वास्थ्यसहितको मध्यम वर्गीय विस्तार, रोजगारी सिर्जना (१० देखि १२ लाख रोजगारी), भौतिक पूर्वाधार र सहरी विकाससहितको कनेक्टिभिटी र प्रवासमा रहेका नेपालीको पुँजीलाई नेपालमा भित्राउने विषय समावेश रहेका छन्।

