काठमाडौँ / नबिल बैंक लिमिटेडले ग्राहकको गोपनीयता भङ्ग गरी कारोबार विवरण चुहावट गरेको भन्ने आरोपलाई आधारहीन र प्रमाणविहीन भन्दै खण्डन गरेको छ।
केही दिनयता सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा फैलिएका यस्ता सूचनाले बैंकिङ सेवाप्रति जनविश्वास कमजोर पार्ने प्रयास भएको बैंकको भनाइ छ।
बैंकका अनुसार वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित ‘गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरू’ शीर्षक समाचारमा अनुसन्धान निकायबाट प्राप्त बैंकिङ विवरण उल्लेख गरिएको थियो।
सो तथ्यलाई तोडमोड गरी केही व्यक्तिहरूले नबिल बैंकलाई लक्षित गरी दुष्प्रचार गरेको बैंकले जनाएको छ।
बैंकले ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, अधिकृत प्रतिनिधि वा कानूनी तथा अनुसन्धान निकायको औपचारिक मागबाहेक कसैलाई उपलब्ध नगराउने स्पष्ट पारेको छ।
बैंकले कुनै पनि ग्राहक विवरण निकालिएको अवस्थामा त्यसको पूर्ण रेकर्ड कोर बैंकिङ सिस्टममा सुरक्षित रहने बताउँदै सम्पूर्ण आरोपहरू गलत र भ्रामक रहेको जनाएको छ।
नबिल बैंकले प्रचलित कानून, नियमन र आन्तरिक सुशासन नीति पूर्ण रूपमा पालना गर्दै ग्राहक सूचनाको गोपनीयता कायम राख्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
बैंकले चार दशकभन्दा बढीको विश्वसनीय इतिहास भएको संस्थामाथि गरिएको दुष्प्रचार स्वीकार्य नहुने बताउँदै यस्ता गतिविधि रोक्न आग्रह गरेको छ।
साथै, नियोजित रूपमा गलत सूचना फैलाउनेहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ लगायत प्रचलित कानूनअनुसार कानुनी कारबाही अघि बढाइने चेतावनीसमेत दिएको छ।a

