२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

१९औँ विश्व अटिजम सचेतना दिवस २०२६ मनाइँदै


सञ्चार डबली
  • बुधबार, चैत १८ २०८२
  • 3.8K
    SHARES

  • images
    १९औँ विश्व अटिजम सचेतना दिवस २०२६ मनाइँदै

    काठमाडौँ । सन् २००८ देखि संयुक्त राष्ट्र संघले घोषणा गरे अनुरूप हरेक वर्ष अप्रिल २ तारिखका दिन मनाइने 'विश्व अटिजम सचेतना दिवस' यस वर्ष पनि नेपालमा विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। यस वर्षको विश्वव्यापी नारा “Celebrate difference, Autism and Humanity-Every Life has Value” रहेको छ। सन् २०२१ को सिडिसी (CDC) को तथ्याङ्कअनुसार विश्वमा हरेक ३१ मध्ये १ बच्चामा अटिजमको अवस्था देखिएको र यो बढ्दो संख्या राष्ट्रका लागि एउटा चुनौती बनेको सन्दर्भमा अटिजमलाई रोग नभई मस्तिष्कको विशेष अवस्था (Neurodivergent condition) का रूपमा बुझ्न र बुझाउनु आवश्यक देखिएको छ।

    अटिजम भएका बालबालिकाहरू भविष्यमा वयस्क हुँदा उनीहरूलाई आत्मनिर्भर बनाउन सानै उमेरमा सही समय सापेक्ष हस्तक्षेप (Intervention) गर्नु अनिवार्य मानिन्छ। यदि समयमै उनीहरूको सिप, कला र दक्षतालाई चिनेर मार्गनिर्देशन नगरेमा उनीहरू परिवार र समाजमा आश्रित हुनुपर्ने अवस्था आउँछ जसले भविष्यमा बोझ बन्ने चुनौती स्पष्ट देखाउँछ। अटिजम भएका व्यक्तिहरूको विशिष्ट विविधतालाई स्वीकार गर्दै उनीहरूलाई रोजगारीको अवसरमा समेत समावेश गर्नुपर्ने र हरेक जीवन मूल्यवान रहेको कुरालाई उजागर गर्न संयुक्त राष्ट्र संघले समेत यस विशेष अवस्थालाई सही तरिकाले बुझ्न र तालिम दिनुपर्ने मानवीय धर्म रहेको सन्देश प्रवाह गरेको छ।

    अटिजम केयर नेपाल सोसाइटी (ACNS) को स्थापना सन् २००८ को अप्रिल २ मै भएको र संस्थाले विगतका वर्षहरू झैँ यस वर्ष पनि राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यस वर्ष पनि एसीएनएसले विभिन्न टक-शो, सडक नाटक, अभिभावक तथा शिक्षकहरूका लागि प्रशिक्षण तालिमहरू सञ्चालन गरिरहेको छ। जावलाखेलस्थित ललित मण्डप प्राङ्गणमा निलो बत्ती बालेर सचेतना जगाउनुका साथै अभिभावक, प्रशिक्षक, समाजसेवी र सरकारी अधिकारीहरूको उपस्थितिमा अटिजम भएका बालबालिका तथा भाइबहिनीहरूको कला प्रदर्शनी, सडक नाटक र फ्ल्यास मब (Flash mob) जस्ता विशेष कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदै छ।

    यस वर्षको कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष भनेको अटिजम भएका व्यक्तिका दाजुभाइ तथा दिदीबहिनी (Siblings) को भूमिकालाई प्राथमिकतामा राख्नु हो। उनीहरूले भोग्नुपर्ने चुनौती र उनीहरूको महत्वलाई समाजसामु ल्याउन विशेष 'सिब्लिङ पोडकास्ट' सञ्चालन गरी उनीहरूका इस्युलाई समाजमा ल्याउने कोसिस गरिएको छ। अटिजम जीवनभर रहने अवस्था भएकाले उमेर अनुसार उनीहरूलाई दिइने सेवा र सिप पनि परिवर्तनशील रहन्छन्। यदि समाजले उनीहरूको विशिष्ट क्षमता र विविधतालाई चिनेर स्वीकार गर्ने हो भने उनीहरूले पनि समाज विकासमा ठूलो योगदान दिन सक्छन्। त्यसैले एउटा सकारात्मक समाज निर्माणका लागि अटिजमलाई चिन्नु मात्र पर्याप्त छैन, यसलाई गहिराइबाट बुझ्न र सहर्ष स्वीकार्न अनिवार्य छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend