२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

जेनजी आन्दोलनका २८ घाइतेको बयान प्रतिवेदनमा: बिना चेतावनी ताकी–ताकी गोली हानियो


सञ्चार डबली
  • बिहीबार , चैत १२ २०८२
  • 5.6K
    SHARES

  • जेनजी आन्दोलनका २८ घाइतेको बयान प्रतिवेदनमा: बिना चेतावनी ताकी–ताकी गोली हानियो

    काठमाडौं ।  भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन'मा राज्यपक्षबाट भएको दमनका क्रममा घाइते भएकाहरुको बयान जाँचबुझ आयोगको प्रतिवेदनमा समेटिएको छ । 

    गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले घटनाको छानबिन गरी तयार पारेको प्रतिवेदनमा आन्दोलनका क्रममा घाइते भएका २८ जना प्रदर्शनकारीको बयान समेटेको हो । जसमा सुरक्षाकर्मीबाट बिना चेतावनी निहत्था नागरिकमाथि 'ताकी-ताकी' गोली प्रहार गरेको दाबी गरिएको छ । 

     घाइतेहरूको बयानले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा प्रहरीले एक्कासि अश्रुग्याँस, रबर बुलेट र घातक धातुका गोली (लाइभ राउन्ड) चलाएको बताएका छन्। जसमध्ये  अधिकांश घाइतेले घुँडाभन्दा माथि, छाती, पेट, टाउको र आँखामा गोली लागेको बयान दिएका छन्।

    भर्खरै एमबीबीएसको प्रवेश परीक्षा पास गरेर बसेकी १७ वर्षीया एकता शाहले आफू बानेश्वरमा प्रदर्शन हेरिरहेको बेला दायाँ घुँडामा रबर बुलेट लागेर गम्भीर घाइते भएको बयान दिएकी छन्। त्यसैगरी, कुमार उपाध्यायले आफ्नो घरको छतमा उभिएर हेरिरहेको अवस्थामा प्रहरीले चलाएको गोली पाखुरा हुँदै फोक्सो र ढाडसम्म पुगेको बताएका छन्। अर्का घाइते राम चर्माकारले कलंकीमा सुरक्षाकर्मीले १५/२० मिटरको दुरीबाट बिना चेतावनी हानेको गोली सिधै आफ्नो आँखामा लागेको बयान दिएका छन्।

    गीता कुमारी शाहको बयान अलि फरक छ। भदौ २४ गते कोटेश्वरमा आन्दोलनकारीको भेषमा आएका उग्र समूहले एक जना प्रहरी हवल्दारलाई मार्न खोजेपछि गीताले ती प्रहरीलाई बचाउन खोजेकी थिइन्। तर, ती आक्रमणकारीले गीताकै शरीरमा पेट्रोल जस्तो तरल पदार्थ छर्केर आगो लगाइदिए। जसका कारण उनको शरीरको ४० प्रतिशत भाग जलेको र उनी अझै उठबस गर्न नसक्ने अवस्थामा रहेको बयानमा उल्लेख छ।

    आयुष वि.क., लोकराज उपाध्याय, सुरेन्द्रजंग थापा, स्मृति राईलगायत २८ जना घाइतेले एकमुष्ट रूपमा भनेका छन्– '२३ गते हाम्रो आन्दोलन स्वत:स्फूर्त र शान्तिपूर्ण थियो। तर २४ गते बाहिरबाट घुसपैठियाहरू प्रवेश गरी तोडफोड मच्चाए र राज्यले त्यही बहानामा निर्दोष युवाहरूमाथि गोली वर्षायो।'

    प्रतिवेदनमा उक्त दुई दिने आन्दोलनका क्रममा कुल २ हजार ५२२ जना घाइते भएको उल्लेख छ । झडपमा परी १ हजार ३२८ जना प्रदर्शनकारी र २ हजार ६८ जना सुरक्षाकर्मी घाइते भएका थिए। जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै सबैभन्दा धेरै घाइते भएका थिए। सुरक्षाकर्मीले भिड नियन्त्रणका नाममा अन्धाधुन्ध बन्दुकको गोली र रबर बुलेट प्रयोग गर्दा यति ठूलो मानवीय क्षति भएको प्रतिवेदनले औंल्याएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend