काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीलाई श्रमिकमैत्री बनाउन ‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्था खारेज गर्नुपर्ने बताएका छन्। मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्।
उनले एक महिनाभित्र वैदेशिक रोजगारीको क्षेत्रमा रहेका सबै सिन्डिकेटहरु तोड्ने दाबी गरेका छन् । उनले श्रमिकलाई ट्र्यापमा पार्ने खालका सबै प्रकारका कार्यविधि खारेज गर्दै आवश्यक नीतिगत सुधार गरिने बताएका छन् ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीसँग जोडिएको फ्रि भिसा र फ्रि टिकटको व्यवस्था समस्याको रुपमा देखापरेको उल्लेख गरेका छन् । बाहिरबाट हेर्दा राम्रो देखिए पनि फ्रि भिसा र फ्रि टिकटको व्यवस्थाले राजस्व चुहावट, कर छलि र संगठित अपराधलाई बढावा दिएको उनको दाबी छ ।
उनले नवैदेशिक रोजगारसम्बन्धी कार्यविधि संशोधनका लागि समिति गठन भइसकेको जानकारी दिँदै समितिले सरोकारवालासँग सुझाव संकलन गरेर काम गरिरहेको बताएका छन् ।



