काठमाडौँ । द ब्रिटिश कलेजसँग आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ परेका छन्। कलेज व्यवस्थापनसँग ३० लाख रुपैयाँ माग गर्दै रकम नदिए कलेज नै बन्द गराइदिने धम्की दिएको आरोपमा २८ वर्षीय ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईका अनुसार काभ्रेपलाञ्चोक जिल्ला चौंरीदेउराली गाउँपालिका–४ स्थायी घर भई हाल जोरपाटी बस्दै आएका ढकाललाई मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ बमोजिम अवैध लाभ -एक्सटर्सन_ सम्बन्धी कसूरमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार ढकालले राजनीतिक तथा प्रशासनिक पहुँच प्रयोग गर्ने भन्दै कलेज बन्द गराइदिने धम्की दिँदै रकमको बार्गेनिङ गरेका थिए। उनले २०८२ साल पुस १६ र १७ गते नक्सालस्थित एक होटलमा कलेज व्यवस्थापनसँग भेट गरी डर, त्रास र दबाब सिर्जना गर्दै रकम नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।
त्यसैगरी, सामाजिक सञ्जाल मार्फत कलेजको प्रतिष्ठा, विश्वसनीयता र छविमा नकारात्मक असर पार्ने सामग्रीहरू फैलाएको आरोप पनि उनी माथि लगाइएको छ।
प्रहरीले गत पुस ८ गते ब्रिटिश कलेज रहेको ट्रेड टावर परिसरमा भएको नारा–जुलुस, तोडफोड तथा सवारी साधनमा क्षति पुर्याउने घटनामा समेत ढकालको संलग्नता रहेको जनाएको छ।
ढकाल किल युनिभर्सिटीको सम्बन्धनमा सञ्चालन भइरहेको ब्रिटिश इन्टरनेशनल कलेजका पूर्व विद्यार्थी समेत भएको र कलेजलाई तिर्नुपर्ने शुल्क हालसम्म भुक्तानी नगरेको प्रहरीले जानकारी दिएको छ।
पीडित पक्षको जाहेरीका आधारमा धम्कीपूर्ण ह्वाट्सएप सन्देश, अडियो रेकर्डिङ, समाचार सामग्रीका लिङ्क तथा अन्य कागजातहरू प्रमाणका रूपमा संकलन गरी ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

