काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने गरी अघि बढेको जानकारी दिएका छन् ।
मेलमिलाप दिवसको शुभकामना दिँदै उनले राष्ट्रप्रति दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु आजको जिम्मेवारी भएको बताउँदै उनले विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढेको बताएका हुन् ।
उनले भनेका छन्, नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ। यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन- भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ। त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो। पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ।
उनले थपेका छन्, राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो। अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्त भित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ।




