२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रवि-बालेन मिलनपछि कुलमानको आह्वान- ‘वैकल्पिक शक्तिहरू एक नभई सुखै छैन’


सञ्चार डबली
  • आइतबार, पुस १३ २०८२
  • 3.6K
    SHARES

  • images
    रवि-बालेन मिलनपछि कुलमानको आह्वान- ‘वैकल्पिक शक्तिहरू एक नभई सुखै छैन’

    काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र महानगर प्रमुख बालेन शाहबीच नयाँ समीकरण बनिरहँदा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक राजनीतिक शक्तिहरूबीचको ध्रुवीकरणमा जोड दिएका छन् ।]

    पोखरामा आइतबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले मुलुकको आवश्यकता र जनचाहना पूरा गर्न सबै वैकल्पिक शक्तिहरू एकै ठाउँमा उभिनुपर्ने बताए । वर्तमान सरकारका मन्त्री समेत रहेका घिसिङले पार्टी एकीकरण सम्भव नभए पनि ‘कार्यगत एकता’ गरेर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे । ‘सही नेतृत्व र वैकल्पिक विचार बोकेका शक्तिहरू अब छरिएर होइन, एकताबद्ध भएर जानुपर्छ,’ घिसिङले भने, ‘सकेसम्म पार्टी एकीकरण गरौं, त्यो नसके कम्तीमा कार्यगत एकता गरेर भए पनि अगाडि बढौं । म सबै नयाँ र मूलधारका परिवर्तनकारी शक्तिलाई एक ठाउँमा आउन आह्वान गर्दछु ।’

    जनताले पुराना शैलीको विकल्प खोजिरहेको उल्लेख गर्दै उनले भने, ‘आजको जनमत वैकल्पिक शक्तिहरू एक होउन् र देशलाई नयाँ नेतृत्व प्रदान गरुन् भन्ने पक्षमा छ। यो भावनालाई हामीले समयमै बुझ्न जरुरी छ।’

    रास्वपा सभापति लामिछाने र मेयर शाहबीच सात बुँदे सम्झौता सार्वजनिक भएकै दिन घिसिङको यो अभिव्यक्ति आउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । केही समयअघि बालेनसँग सहकार्यका लागि घिसिङले पनि छलफल अघि बढाएका थिए । तर, पछिल्लो समीकरणमा रवि र बालेन एक हुँदा कुलमान भने बाहिरै रहेका छन् । यद्यपि, घिसिङले आफूहरू एक्लिएको महसुस नगरेको संकेत गर्दै सम्मानजनक सहकार्यका लागि ढोका खुला रहेको प्रष्ट पारे ।

    एकताको अपिल गर्दैगर्दा घिसिङले सहकार्यको सर्त पनि अघि सारेका छन् । उनले आफ्नो पार्टीको आत्मसम्मान र स्वाभिमानलाई दाउमा राखेर भने कुनै सम्झौता नहुने स्पष्ट पारे । ‘हामी सबैसँग सहकार्य गर्न तयार छौं, तर त्यो सम्मानजनक हुनुपर्छ । हाम्रो स्वाभिमान नमेटिने गरी हुने सहकार्यले मात्र नतिजा दिन्छ,’ उनले कार्यकर्ताहरूलाई आश्वस्त पार्दै भने, ‘भित्रभित्रै धेरै गृहकार्य भइरहेको छ, केही दिनमै यसको ठोस नतिजा तपाईंहरूले देख्नुहुनेछ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend