काठमाण्डौ । क्रिसमसको अवसरमा केएल दुगर ग्रुपका सदस्यहरूले गोकर्णेश्वरस्थित सुनौलो पाइला अनाथालयलाई १ हजार लिटर क्षमताको पानी ट्यांकी प्रदान गरेका छन्। साथै, कक्षा १ देखि ८ सम्म अध्ययनरत ६ देखि १६ वर्ष उमेरका ९ जना बालबालिकालाई विभिन्न उपहार वितरण गरिएको छ।
कम्पनीका अनुसार यो पहल बालबालिकाको अनुहारमा मुस्कान ल्याउन र उनीहरूको क्रिसमसलाई खुशीमय बनाउन गरिएको हो। कार्यकारी निर्देशक सृष्टि दुगरले भनिन्, “बालबालिकाको जीवनमा साना क्षणहरूले पनि ठूलो प्रभाव पार्न सक्छ। उनीहरूको अनुहारमा देखिएको खुशीले हाम्रो सामाजिक जिम्मेवारीको महत्त्व अझै स्पष्ट भएको छ।”
उपहार वितरणसँगै कम्पनीका प्रतिनिधिहरूले अनाथालयमा बालबालिकासँग समय बिताएका थिए। उनीहरूसँगै खाना खाँदै रमाइला कुराकानी र गतिविधिहरूमा सहभागी हुँदा दिनलाई अझ स्मरणीय बनाएको कम्पनीले जनाएको छ।
यो कार्यक्रम समाजप्रति जिम्मेवारी पूरा गर्ने निरन्तर प्रयासको एक हिस्सा भएको कम्पनीले उल्लेख गरेको छ। साथै, आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

