काठमाडौं । यामाहा नेपाल टाइटल स्पोन्सरका रूपमा प्रस्तुत भएको नेपाल रोड रेसिङ च्याम्पियनसिप (एनआरआरसी) २०२५ को फाइनल राउन्ड सम्पन्न भएको छ । धुलिखेल रेस ट्रयाकमा रोमाञ्चक प्रतिस्पर्धासहित सम्पन्न भएको फाइनल राउन्डसँगै रेसिङ सिजनको सुखद समापन भएको छ ।
प्रतियोगितामा देशका उत्कृष्ट मोटरसाइकल राइडरहरूका साथै ठूलो संख्यामा रेसिङप्रेमी, मोटरस्पोर्ट समर्थक र उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कम्पनीका अनुसार, प्रतियोगितामा नेसनल, नोभिस र वुमेन गरी तीन प्रतिस्पर्धात्मक श्रेणीहरू समावेश थिए । निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न र राइडरको सीपमा केन्द्रित रहन सबै सहभागीहरूले यामाहा आर १५ मोटरसाइकल प्रयोग गरेका थिए । रेसिङ डीएनए, सन्तुलन र ट्रयाक–केन्द्रित इन्जिनियरिङका लागि परिचित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेसिङ सर्किटमा प्रमाणित प्रदर्शन गर्दै आएको मोडल हो ।
यसले राइडरहरूलाई स्पीड नियन्त्रण, कर्नरिङ र रेस रणनीतिमा आफ्नो कौशल देखाउने अवसर प्रदान गर्ने जनाइएको छ । सिंगल बाइक फर्म्याटको प्रयोग पनि यामाहाको मेकानिकल फाइदाभन्दा प्रतिभा विकासलाई प्राथमिकता दिने रेसिंग प्लेटफर्मलाई सघाउने प्रतिबद्धता अनुरुप रहेको बताइएको छ ।
नेसनल श्रेणीमा धेरै पटक राष्ट्रिय च्याम्पियन रहिसकेका हरि पौडेलले उपाधि जितेका छन् । नोभिस श्रेणीमा उदीयमान प्रतिभाहरूको प्रभावशाली उपस्थिति देखियो, जसमा अभि रिसालले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जिते । त्यसैगरी, वुमेन श्रेणीमा वर्षा बस्नेत विजयी भइन् । २०२५ का विजेताहरूले आगामी अन्तर्राष्ट्रिय रेसिङ प्रतियोगिताहरूमा सहभागिता जनाउने अवसर पाउनेछन् ।
यो च्याम्पियनसिपमार्फत यामाहाले नेपालमा व्यावसायिक रेसिङ इकोसिस्टम निर्माणमा भूमिका खेल्दै आएको छ । सुरक्षित, प्रतिस्पर्धात्मक र सीप–केन्द्रित रेसिङ प्रवर्द्धन गर्दै स्थानीय राइडर प्रतिभा उजागर गर्न प्रतियोगिता सहयोगी भएको बताइएको छ ।
नेपालमा मोटरस्पोर्टसँग यामाहाको लामो समयदेखिको योगदान रहँदै आएको छ । रेसिङ इभेन्ट, राइडर तालिम जस्ता कार्यक्रममार्फत राष्ट्रियस्तरका च्याम्पियनसिपलाई निरन्तर सहयोग गर्दै आएको छ । वान–मेक रेसिङ फर्म्याटहरू, प्राविधिक सहायता र प्रतिस्पर्धाका लागि व्यवस्थित प्लेटफर्म मार्फत यामाहाले व्यावसायिक रेसिङ संस्कृतिको विकास र स्थानीय राइडर प्रतिभाको पहिचान एवम् प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिएको कम्पनीले जनाएको छ ।



