काठमाडौँ / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चार महिना (२०८२ कात्तिकसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति (मूल्यवृद्धि) १.११ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको पहिलो चौमासिकमा कुल विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब ५२ करोड पुगेको छ । यस्तो सञ्चिति १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोड र शोधनान्तर रु.३१८ अर्ब ४० करोड बचतमा रहेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३१.४ प्रतिशतले र अमेरिकी डलरमा २५.३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनाको विप्रेषण आप्रवाह १ खर्ब ३३ अर्ब ८२ करोड रहेको छ ।
त्यस्तै, निर्यात ७७.५ प्रतिशतले र आयात १८.७ प्रतिशतले बढेको छ । नेपाल सरकारको खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड र राजस्व परिचालन रु.३२६ अर्ब ५५ करोड रहेको छ ।
समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.१ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.९ प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.७४ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.३८ प्रतिशत रहेको छ ।
हेर्नुस् पूर्णपाठ
मुद्रास्फीति
उपभोक्ता मुद्रास्फीति
२०८२ कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.१० प्रतिशत र ३.६५ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को चार महिनाको औसत मुदास्फीति १.५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही अवधिको औसत मुद्रास्फीति ४.५९ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२५ प्रतिशत, गैर-मदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १.९७ प्रतिशतले बढेको छ । तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १४.४३ प्रतिशत, मरमसलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको ५.३६ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.१७ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२३ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.६६ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.२६ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८० प्रतिशत, मधेश प्रदेशको १.७३ प्रतिशत, बागमती प्रदेशको ०.८१ प्रतिशत, गण्डकी प्रदेशको ०.३७ प्रतिशत, लुम्बिनी प्रदेशको १.२७ प्रतिशत, कर्णाली प्रदेशको १.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.२६ प्रतिशत रहेको छ ।
थोक मुद्रास्फीति
२०८२ कात्तिक महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.९१ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ३.१४ प्रतिशत र २.२६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ३.२४ प्रतिशतले बढेको छ ।
नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति
२०८२ कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत रहेको छ । सन् २०२५
नोभेम्बर महिनामा भारतमा यस्तो मुद्रास्फीति ०.७१ प्रतिशत रहेको छ ।
बाह्य क्षेत्र
वैदेशिक व्यापार
आर्थिक वर्ष २०८२/८३ को चार महिनामा कुल वस्तु निर्यात ७७.५ प्रतिशतले वृद्धि भई रु.९३ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११३.९ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५६.२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैँचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ को चार महिनामा कुल वस्तु आयात १८.७ प्रतिशतले वृद्धि भई रु.६०९ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ०.२ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २८.५ प्रतिशत र ४८.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, सुन, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन, दाललगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ को चार महिनामा कुल वस्तु व्यापार घाटा १२.० प्रतिशतले वृद्धि भई रु.५१५ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ०.३ प्रतिशतले कमी आएकोे थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १५.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.३ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.५४ अर्ब ९८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.५७ अर्ब २४ करोड बराबरको भएको थियो ।
वैदेशिक व्यापारको संरचना
बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुकोे अनुपात क्रमशः ६९.६ प्रतिशत, २९.८ प्रतिशत र ०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुुपात क्रमशः ५०.९ प्रतिशत, ४८.२ प्रतिशत र ०.९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३८.२ प्रतिशत, ५३.० प्रतिशत र ८.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ४२.६ प्रतिशत, ४८.७ प्रतिशत र ८.७ प्रतिशत रहेको थियो ।
निर्यात–आयात मूल्य सूचकाङ्क
वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्कमा (Unit Value Index) १.२ प्रतिशतले कमी आएको छ भने आयात मूल्य सूचकाङ्कमा १.५ प्रतिशतले वृद्धि भएको छ । २०८२ कात्तिक महिनामा व्यापारको सर्त (Terms of Trade) २.६ प्रतिशतले घटेको छ ।
सेवा
समीक्षा अवधिमा खुद सेवा आय रु.३२ अर्ब ९१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.२२ अर्ब ३७ करोडले घाटामा रहेको थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ०.९ प्रतिशतले वृद्धि भई रु.२७ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.२६ अर्ब ९० करोड रहेको थियो ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ११.८ प्रतिशतले वृद्धि भई रु.७५ अर्ब ७४ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.४८ अर्ब २६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.६७ अर्ब ७५ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.३७ अर्ब ७७ करोड रहेको थियो ।
विप्रेषण आप्रवाह
आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई रु.६८७ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । २०८२ कात्तिक महिनामा विप्रेषण आप्रवाह रु. १३३ अर्ब ८२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. ११४ अर्ब ३१ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ७५४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.५६९ अर्ब २९ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १,४५,९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १,२७,८३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १,४७,४७८ र ९४,१०५ रहेको थियो ।
चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता रु.२७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.६ अर्ब २१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु. २ अर्ब ४७ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.२ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.५ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३१८ अर्ब ४० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२०५ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति
२०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई २०८२ कात्तिक मसान्तमा रु.३०५५ अर्ब ५२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १२.८ प्रतिशतले वृद्धि भई रु.२७२४ अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा २५.८ प्रतिशतले वद्धि भई रु.३३० अर्ब ८५ करोड कायम भएको छ । २०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०८२÷८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५०.० प्रतिशत, १४४.९ प्रतिशत र ३७.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
कच्चा पेट्रोलियम एवम् सुनको मूल्य
अन्तर्राष्ट्रिय बजारमा २०८१ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७३.४५ रहेको कच्चा पेट्रोलियम (Crude Oli Brent) को मूल्य २०८२ कात्तिक मसान्तमा १३.६ प्रतिशतले कमी आई अमेरिकी डलर ६३.४५ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८१ कात्तिक मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २५७१.८० रहेकोमा २०८२ कात्तिक मसान्तमा ५८.३ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ४०७१.१० पुगेको छ ।
विनिमय दर
२०८२ असार मसान्तको तुलनामा २०८२ कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.३ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.० प्रतिशतले अवमूल्यन भएको थियो । २०८२ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१४१.७० पुगेको छ । २०८२ असार मसान्तमा उक्त विनिमय दर रु.१३७ रहेको थियो ।
सरकारी वित्त स्थिति
नेपाल सरकार
खर्च तथा राजस्व
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को चौथो महिनासम्ममा नेपाल सरकारको कुल खर्च रु.४६८ अर्ब ८८ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च रु ३२० अर्ब ९९ करोड, पुँजीगत खर्च रु.२५ अर्ब ३१ करोड र वित्तीय व्यवस्था खर्च रु.१२२ अर्ब ५८ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.३२६ अर्ब ५५ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व रु.३०६ अर्ब ८९ करोड र गैरकर राजस्व रु.१९ अर्ब ६६ करोड परिचालन भएको छ ।
नेपाल सरकारको नगद मौज्दात
२०८२ कात्तिक मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२०२ अर्ब ९७ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात रु.१३० अर्ब ७३ करोड रहेको थियो ।
प्रदेश सरकार
खर्च तथा राजस्व
समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च रु.२१ अर्ब ४१ करोड र स्रोत परिचालन रु.६० अर्ब ३६ करोड रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.४७ अर्ब ३ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.१२ अर्ब ४८ करोड रहेको छ ।
मौद्रिक स्थिति
मुद्राप्रदाय
आर्थिक वर्ष २०८२÷८३ को चार महिनामा विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ३.० प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु.३१८ अर्ब ४० करोड (११.९ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.२०५ अर्ब ८३ करोड (१०.३ प्रतिशत) ले बढेको थियो ।
समीक्षा अवधिमा सञ्चित मुद्रा २.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा २.७ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा सञ्चित मुद्रा १०.८ प्रतिशतले बढेको छ ।
मौद्रिक क्षेत्रको आन्तरिक दाबी
आर्थिक वर्ष २०८२/८३ को चार महिनामा कुल आन्तरिक दाबी ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १.३ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा यस्तो दाबी ४.२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ११.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ६.६ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा यस्तो दाबी ७.९ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ३.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.४ प्रतिशतले बढेको छ ।
निक्षेप परिचालन
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत (रु.२२२ अर्ब ३८ करोड) ले वृद्धि भई रु.७४८६ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.३ प्रतिशत (रु.१४९ अर्ब ८४ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.४ प्रतिशतले बढेको छ ।
२०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.० प्रतिशत, ३९.२ प्रतिशत र ४५.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.३ प्रतिशत, ३२.८ प्रतिशत र ५४.५ प्रतिशत रहेको थियो ।
२०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ । २०८१ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३५.८ प्रतिशत रहेको थियो ।
कर्जा प्रवाह
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशत (रु.६५ अर्ब ४ करोड) ले बढी रु.५५६२ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१२८ अर्ब ४७ करोड (२.५ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.९ प्रतिशतले बढेको छ ।
२०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थयो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको र वित्त कम्पनीहरूका कर्जा प्रवाह १.३ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ ।
२०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत रहेको छ । २०८१ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.५ प्रतिशत र ६६.० प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.६ प्रतिशत र वित्त विमा र अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा ३.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.४ प्रतिशत, क्यास क्रेडिट कर्जा १.८ प्रतिशत, हायर पर्चेज कर्जा १.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.१ प्रतिशत र आवधिक कर्जा ०.९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४.९ प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा २.१ प्रतिशतले घटेको छ ।
तरलता व्यवस्थापन
समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.१०२१ अर्ब ५ करोड, स्थायी निक्षेप सुविधामार्फत रु.१८५३४ अर्ब ७५ करोड गरी कुल रु.१९५५५ अर्ब ८० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन र ओभरनाइट तरलता सुविधामार्फत रु.१२ अर्ब २५ करोड तरलता प्रवाह गरी खुद रु.१९५४३ अर्ब ५५ करोड बराबरको तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक-पटक गरी खुद रु.१०७७५ अर्ब ९५ करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर २ अर्ब १० करोड खुद खरिद गरी रु.२९६ अर्ब २० करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ९२ करोड खुद खरिद गरी रु.२५७ अर्ब १५ करोड तरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब २६ करोड बिक्री गरी रु.१७७ अर्ब ९३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब २० करोड बिक्री गरी रु.१६१ अर्ब ४७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
अन्तरबैंक कारोबार
आर्थिक वर्ष २०८२/८३ को चार महिनामा वाणिज्य बैंकहरूको रु.२८८ अर्ब ९१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को रु.६५ अर्ब २४ करोड गरी कुल रु.३५४ अर्ब १५ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको रु.४७० अर्ब ३० करोड र अन्य वित्तीय संस्थाहरूको रु.६१ अर्ब ८० करोड गरी कुल रु.५३२ अर्ब १० करोडको अन्तर बैंक कारोबार भएको थियो ।
ब्याजदर
२०८१ कात्तिकमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.७७ प्रतिशत रहेकोमा २०८२ कात्तिक मा २.३७ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २०८१ कात्तिकमा २.९१ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा २.७५ प्रतिशत रहेको छ ।
२०८२ कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.४४ प्रतिशत, विकास बैंकहरूको ७.७४ प्रतिशत र वित्त कम्पनीहरूको ८.३९ प्रतिशत रहेको छ । २०८१ कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधार दर ७.०२ प्रतिशत, विकास बैंकहरूको ८.९६ प्रतिशत र वित्त कम्पनीहरूको १०.०३ प्रतिशत रहेको थियो ।
२०८२ कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.७४ प्रतिशत, विकास बैंकहरूको ४.३२ प्रतिशत र वित्त कम्पनीहरूको ५.४७ प्रतिशत रहेको छ । २०८१ कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.०१ प्रतिशत, विकास बैंकहरूको ५.८३ प्रतिशत र वित्त कम्पनीहरूको ७.१८ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८२ कात्तिकमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.३८ प्रतिशत, विकास बैंकहरूको ८.६६ प्रतिशत र वित्त कम्पनीहरूको १०.०५ प्रतिशत रहेको छ । २०८१ कात्तिकमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.०७ प्रतिशत, विकास बैंकहरूको १०.४३ प्रतिशत र वित्त कम्पनीहरूको ११.७० प्रतिशत रहेको थियो ।
वित्तीय पहुँच
२०८२ कात्तिक मसान्तमा यस बैंकबाट २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १०७ वटा बैंक तथा वित्तीय संस्थाहरूले इजाजतपत्रप्राप्त गरी सञ्चालनमा रहेका छन् । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११,५२६ रहेकोमा २०८२ कात्तिक मसान्तमा ११,५१६ रहेको छ ।
२०८२ कात्तिक मसान्तमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा रहेका निक्षेप खाताहरूको सङ्ख्या ६ करोड ८ लाख ७१ हजार १३३ रहेको छ भने कर्जा खाताहरूको सङ्ख्या १९ लाख ९४ हजार ९१२ रहेको छ ।
वित्तीय सबलता सूचक
२०८२ कात्तिक मसान्तमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त प्राथमिक तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाको औसत प्राथमिक पुँजी तथा पुँजीकोषको जोखिम भारित सम्पत्तिको अनुपात क्रमशः ९.८० प्रतिशत र १२.८९ प्रतिशत रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेपको अनुपात ३५.१६ प्रतिशत रहेको छ । २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात ५.२६ प्रतिशत रहेको छ ।
विद्युतीय कारोबार
२०८२ कात्तिकमा डेबिट कार्ड प्रयोगकर्ताहरूले ९९ लाख कारोबारमार्फत रु.७९ अर्ब ५ करोड बराबरको कारोबार गरेका छन् । त्यसैगरी, मोबाइल बैंकिङअन्तर्गत ५ करोड ८८ लाख कारोबारमार्पmत रु ४४६ अर्ब १८ करोड कारोबार भएको छ । क्यु–आर कोड भुक्तानीअन्तर्गत ३ करोड ६४ लाख (कारोबार सङ्ख्या ) कारोबारमार्पmत रु १०५ अर्ब ४७ करोड कारोबार भएको छ ।
पुँजी बजार
२०८१ कात्तिक मसान्तमा २७४८.७९ रहेको नेप्से सूचकाङ्क २०८२ कार्तिक मसान्तमा २५४०.५८ कायम भएको छ । २०८२ कात्तिक मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४२६५ अर्ब ६८ करोड कायम भएकोे छ । २०८१ कात्तिक मसान्तमा बजार पुँजीकरण रु.४३७६ अर्ब ९० करोड रहेको थियो । २०८१ कात्तिक मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७६.६७ प्रतिशत रहेकोमा २०८२ कात्तिक मसान्तमा ६९.८५ प्रतिशत रहेको छ ।
२०८२ कात्तिकमसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८३ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत् कम्पनी, २४ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८१ कार्तिकमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटलको हिस्सा २.९ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.६ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ कार्तिक मसान्तमा सूचीकृत रु.९ अर्ब २ करोड सेयरको चुक्ता मूल्य रु.८८९ अर्ब ५३ करोड रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु.१९ अर्ब २ करोड बराबरको साधारण सेयर, रु.५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, रु.५ अर्ब बराबरको म्युचुअल फन्ड, रु.३ अर्ब ४० करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ४० करोड बराबरको बोनस सेयर र रु.९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल रु.३६ अर्ब १६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ४३ करोड बराबरको म्युचुअल फण्ड, रु.३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र रु.३ अर्ब ३७ करोड बराबरको साधारण सेयर गरी कुल रु.१६ अर्ब ५७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

