काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राजाहरूले जस्तै सुशीला कार्की नेतृत्वको सरकारले जनप्रतिनिधि संस्था संसद्को हत्या गरेको आरोप लगाएका छन्।
नेकपा (एमाले)को एघारौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै महासचिव भट्टले जेनजी आन्दोलनका नाममा संसद्को हत्या गरिएको जिकिर गरेका हुन्। ‘जेनजी आन्दोलनको नाममा असंवैधानिक सरकार गठन भयो। त्यो सरकारको निसानामा संसद् पर्यो,’ भट्टले भने।
यो सरकरको पहिलो निर्णय जनजीविकाका सवालमा नभएर संसद्को हत्या गर्ने भएको आरोप लगाए। ‘असंवैधानिक सरकारको पहिलो काम भयो संसदको हत्या गर्नु,’ भट्टले थपे, ‘जसरी राजा महेन्द्रले संसदको हत्या गरेका थिए, राजा ज्ञानेन्द्र संसद्को हत्या गरेका थिए, त्यसरी नै सुशीला कार्की नेतृत्वको सरकारको काम भयो संसद्को हत्या गर्नु।’



