काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सहमतिलाई नेपालको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुंगा भएको बताएकी छन्।
बुधबार सिंहदरबारमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यो दस्तावेजले भावी पुस्ताको परिवर्तनको दिशालाई निर्देशित गर्ने विश्वास व्यक्त गरिन्।
उनले नेपाल जेनजी आन्दोलनको प्रेरणाको केन्द्र बनेको र यसको प्रभावबाट विश्वका अन्य देशहरूमा पनि आन्दोलनहरू भइरहेको उल्लेख गरिन्। सहमति दस्तावेजलाई सबै पक्षको स्वीकार्य बनाउन केही समय लागेकाले हस्ताक्षरमा ढिला भएको पनि उनले स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरू, घाइते भएका योद्धाहरू तथा सम्पूर्ण जेनजी युवाहरूको योगदानलाई इतिहासमा सधैं जीवन्त राख्नका लागि पनि यो ऐतिहासिक दस्तावेज तयार पारिएको बताइन्।



