काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकलाई संकटबाट जोगाउन राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच समझदारी नयाँ समझदारी हुनुपर्ने बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनअघि नै राजा, राजनीतिक दल र जेनसी पुस्ताबीच सर्वपक्षीय सम्मेलन गरेर मुलुकलाई निकास दिने कामको नेतृत्व गर्न समेत आग्रह गरेका छन्। उनले यथास्थितिमा निर्वाचन भए मुलुकमा झनै विद्रोहको आगो बल्ने चेतावनी समेत दिएका छन्।
मुलुक भूराजनीतिको गम्भिर चक्रव्यूहमा फसेको जिकिर गर्दै अध्यक्ष लिङदेनले यस्तो अवस्थामा निर्वाचन भए देशले झनै ठूलो ध्वंस व्यहोर्नुपर्ने अवस्था आउने बताएका छन् ।
उनले भने,‘ म फेरि पनि भन्छु-यो समस्याको समाधान होइन । फागुन २१ गते अथवा यही व्यवस्था अन्तर्गत निर्वाचन गर्नु भनेको समस्यालाई अलि परतिर धकेल्ने कुरा मात्र हो । यो समस्याको समाधान होइन । यो भन्दा ठूलो ध्वस देशले व्यहोर्नुपर्ने हुनसक्छ । आज हामीले आवरणमा देखिएको मुद्दा र समस्या मात्रै होइन, आज जनताले महशुस गर्नेगरी देशको राज्य शक्तिको अवस्था के छ । र हामीले बारम्बार भन्दै आईरहेका छाँ–नेपाली जनताको निर्णायकत्व नेपाली जनताको हातमा हुनपर्दछ । नेपाल भूराजनीतिको चक्रव्यूहमा फस्ने खतरा छ । त्यसबाट बच्न राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डाअनुसार अघि बढ्नुपर्दछ भनेर हामीले भन्दै आएका थियौ । अहिले प्रमाणित भयो, थाहा भयो कि भूराजनीतिको चक्रव्युहमा कुन ढंगले फसेको रहेछ रु अहिले नेपाल भूराजनीतिको गम्भिर चक्रव्यूहमा फसेको छ । त्यसकारण यो सबैबाट देशलाई निकास दिनका लागि चुनाव भन्दा अगाडि नै राजा, राजनीतिक दल र अहिले आन्दोलनले स्थापित गरेको शक्ति जेनजी नयाँ समझदारी कायम गरेर मात्रै अगाडि जानुपर्दछ ।



