काठमाडौं । पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाएका छन् । शनिबार (कात्तिक १५) काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा उनले वर्तमान संविधानलाई उद्धृत गर्दै प्रधानमन्त्री सुशीला कार्कीको वैधतामाथि प्रश्नचिह्न खडा भएको बताएका हुन् ।
नेपालको संविधानानुसार अघि बढ्ने भए सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने र सोही सरकारमार्फत प्रतिनिधिसभा विघटन गराउने अधिकार नभएको उनले उल्लेख गरे । कार्की नेतृत्वको अन्तरिम सरकारको आधिकारिता र वैधतामाथि प्रश्न उठाउने अवस्था रहेको रावलको भनाइ थियो ।
उनले यही संविधानानुसार वर्तमान सरकारले निर्वाचन गराए पनि मान्य नहुने जिकिर समेत गरे ।
कार्यक्रममा भीम रावलको भनाइ पढ्नोस्–
सरकारले हामी त चुनाव मात्रै गर्ने हो, संविधान मान्छौँ भन्ने हो भने त गम्भीर प्रश्न उठ्छ । यदि, यो संविधानलाई जस्ताको तस्तै मान्छौँ, केही पनि गर्दैनौँ भन्ने हो भने प्रधानमन्त्रीको आधिकारिता र वैधतामाथि प्रश्न उठछ । विद्रोहले मात्रै संविधानविपरीत प्रधानमन्त्री हुन पाइन्छ । यदि, विद्रोह होइन, संविधानको घेराभित्रबाटै अघि बढ्छौँ भन्यो भने नेपालको संविधानले पूर्वप्रधानन्यायाधीशलाई राजनीतिक नियुक्ति – मानवअधिकार आयोगबाहेक कहीँ पनि जाने अधिकार छैन । राष्ट्रपतिलाई प्रतिनिधिसभाको विघटन यस्तो अन्तरिम सरकारबाट गराउने अधिकार छैन । अनि, सरकार अवैध हुँदैन ? होइन, हामी विद्रोहबाट आएका हौँ भने त्यहीअनुसार काम किन हुँदैन भनेर आवाज उठाउनु होला । न्युज एजेन्सी नेपाल



