२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आजदेखि बाराको पचरौता नगरपालिकामा स्वास्थ्यसहितको अत्यावश्यक सेवा ठप्प


सञ्चार डबली
  • मंगलबार, असार २६ २०८०
  • 8.5K
    SHARES

  • आजदेखि बाराको पचरौता नगरपालिकामा स्वास्थ्यसहितको अत्यावश्यक सेवा ठप्प

     

    काठमाडौ, २६ असार । आजदेखि बाराको पचरौता नगरपालिकामा स्वास्थ्यसहितको अत्यावश्यक सेवा ठप्प हुने भएको छ ।असार १० गते नगरपालिकाको कार्यालयमा भएको तोडफोड र कर्मचारीमाथी दुर्व्यवहार गर्ने व्यक्तिलाई कारवाही गर्न प्रहरीले चासो नदेखाएको भन्दै नगरपालिकाले सेवा बन्द गर्न लागेको हो ।

     नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रले सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयमा काम गर्ने वातावरण नभएका कारण सेवा बन्द गर्न लागिएको जनाएका छन् । मिश्रले नगरपालिकाको कार्यालयमा भएको घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्न समेत माग गरेका छन् ।

     नगरपालिकाको कार्यालयमा गत असार १० गते केही व्यक्तिहरुले कर्मचारी माथी दुर्व्यवहार गरेको र कम्प्युटर तथा प्रिन्टर तोडफोड गरेको मिश्रद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएपनि सुनुवाई नभएको आरोप मिश्रको छ ।

     कर्मचारीको मनोबल खस्किएको र आत्मसम्मानमा ठेस पुगेका कारण सेवा बन्द गरिन लागिएको मिश्रले जनाएका छन् । पचरौता नगरपालिकाका वडाध्यक्ष लक्ष्मी यादवले घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्नुपर्ने प्रहरी सोमबार दिउँसो उल्टै नगरपालिकाको कार्यालयमा पुगेर कर्मचारीलाई अनावश्यक सोधपुछ र धम्क्याउने काम गरेपछि दैनिक प्रवाह हुने सेवा रोक्न बाध्य भएको बताएका छन् ।

     ‘कार्यालयमा प्रवेश गरेर केही व्यक्तिले कम्प्युटर, प्रिन्टर तोडफोड गर्दा समेत प्रहरीले कारवाही गर्न चासो देखाउदैन’ वडाध्यक्ष यादवले भने ‘उल्टै प्रहरी पठाएर कर्मचारीलाई तर्साउने काम गरेको छ । यस्तो अवस्थामा काम गर्न नसक्ने निष्कर्षमा कर्मचारी पुगेपछि सेवा बन्द गरिएको हो । ’

     यता बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले नगरपालिकाको कार्यालयमा कर्मचारीमाथी दुर्व्यवहार र तोडफोड भएको घटनाको विषयमा आफूलाई कुनै जानकारी नआएको बताएका छन् । सरकारी सम्पति तोडफोड गर्न कसैलाई छुट नभएको भन्दै प्रहरी उपरीक्षक बोगटीले त्यस्ता घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्न प्रहरी पछि नहट्ने बताए ।

     प्रहरी उपरीक्षक बोगटीले एक कार्यक्रममा सहभागी हुने क्रममा प्रहरी नगरपालिकाको कार्यालय पुगेको तर विज्ञप्तिमा उल्लेख भएजस्तो कर्मचारीमाथी धाक धम्की नदिएको बताए ।

    ‘कुनै कार्यक्रममा सहभागी हुने क्रममा नगरपालिकाको कार्यालयमा प्रहरी पुगेको भन्ने जानकारी मैले पाए’ बोगटीले भने ‘तर त्यहाँ कर्मचारीलाई धम्क्याउने काम प्रहरीले गरेको छैन ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend