काठमाडौ, २६ असार । जनसङ्ख्या वृद्धिदर र प्रजननदर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको भनाई छ । आज विश्व जनसङ्ख्या दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसङ्ख्याको विद्यमान अवस्था हेर्दा समाज परिवर्तित स्वरुपमा गइरहेको उल्लेख गरेका छन् ।
“जनसङ्ख्याको असन्तुलित अवस्था हेर्दा पहाडी क्षेत्रमा अनुकूल वातावरण र विकासका अवसर सिर्जना गरी अव्यवस्थित बसाइँसराइको प्रक्रियालाई रोक्न आवश्यक भइरहेको छ”, उनले जारी गरेको सन्देशमा भनिएको छ ।
राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार नेपालको जनसङ्ख्यिक संरचनामा केही फेरबदल आएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा उल्लेख्य सुधार भएता पनि सहरी तथा सुविधासम्पन्न स्थानमा जनसङ्ख्याको बढ्दो चाप, जनसङ्ख्या वृद्धिदरमा देखिएको कमी, ठूलो हिस्सा रहेको आर्थिकरूपले सक्रिय जनसङ्ख्याको उचित परिचालन, लैङ्गिक विभेद तथा सामाजिक कुरीति व्यवस्थापन गर्न थप कदम चाल्नुपर्ने देखिएको
मन्त्री बस्नेतले जिकिर गरेका छन् ।

