काठमाडौँ । शुक्रबार प्रहरीद्वारा चिकित्सक कुटिएको विरोधमा नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेका छन् । नेपाल चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको चिकित्सक कुटिएको घटनाको विरोध गर्दै आइतबार देशभरका अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान तथा स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका थिए । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भिआइपीको सुरक्षाका नाममा सांघातिक आक्रमण गर्नु दुखद् रहेको भन्दै चिकित्सक संघले आन्दोलनको घोषणा गरेको हो ।
संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षर गरिएको विज्ञप्ती जारी गर्दै आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको जनाएको हो ।
संघले त्यसको विरोधमा माघ २९ गते देशभरका सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय समेत गरेको छ । शुक्रबार राष्ट्रपति भण्डारीको सवारीका क्रममा वीर अस्पताल अगाडि प्रहरीले डाक्टर सिंह र अन्य स्वास्थ्यकर्मीमाथि लाठि चार्ज गरेको थियो । लाठिचार्जका क्रममा घाइते भएका डा. सिंह अहिले अस्पतालमा उपचाररत छन् ।



