२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : वर्षमान


सञ्चार डबली
  • सोमबार, जेठ २६ २०८२
  • 6.0K
    SHARES

  • बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ :  वर्षमान

    काठमाडौं, जेठ २६ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले तल्लो वर्गलाई छुन नसकेको बताएका छन् ।

    ‘सोमबार राजधानीमा आयोजित ‘संघीयताको दृष्टिमा आर्थिक वर्ष ०८२/०८३ को बजेट’ शीर्षक कार्यक्रममा पुनले बजेटले तल्लो तहका जनताको भावना सम्बोधन गर्नुको साटो उपेक्षा गरेको बताएका हुन् ।

    बजेटले गरिब, मजदुर, किसान र सहकारी पीडितलाई नछोएको भन्दै उनले आपत्ति जनाए । अर्थतन्त्र चलायमान हुन नसक्नुको कारणमध्ये एक सहकारी र लघुबित्तमा देखिएको समस्याको नकारात्मक प्रभाव रहेको भए पनि अर्थमन्त्री र सरकारको ध्यान त्यसतर्फ नगएको उनको भनाइ थियो ।

    "अर्थतन्त्र चलायमान हुन नक्नुको कारण लघुवित्त र सहकारीको समस्या पनि हो," उनले भने, "त्यसमा अर्थमन्त्रीको ध्यान गएको देखिएन ।"

    फरक प्रसंगमा पुनले आगामी आर्थिक वर्षको बजेटमा सहरी विकास मन्त्रालयलाई मागेको भन्दा बढी रकम दिइएकामा आशंका रहेको बताए । 

    उक्त मन्त्रालयको सिलिङ ९१ अर्ब रहेकामा २७ अर्ब बढाएर १ खर्ब १८ अर्ब बजेट दिइनुको कारण आफूहरुले खोज्ने उनले उल्लेख गरे ।

    "७२ अर्बको सिलिङ भएको मन्त्रालयलाई २६ अर्ब बढी बजेट दिनुको कारण के हो ? खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको आशंका छ," उनले भने ।

    राष्ट्रिय योजना आयोगले सहरी विकास मन्त्रालयलाई ९१ अर्ब रूपैयाँ बजेटको सीमा (सिलिङ) तोकिदिएको थियो । 

    यद्यपि उक्त मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रूपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको तुलनामा यो २८ प्रतिशतले बढी हो । 

    सरकारका २२ मध्ये अधिकांश मन्त्रालयको बजेट सीमा घटेकामा सहरीको भने अस्वाविक रुपमा बढाइएको छ । 

    काँग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका प्रकाशमान सिंह उपप्रधानसहित सहरी विकासमन्त्री छन् ।

    अर्थमन्त्री विष्णु पौडेलले तीन करोडभन्दा कम बजेट विनियोजन नभएको दाबी गरिरहेको भए पनि सांसदहरुलाई उपलब्ध गराइएको रातो किताबको डिजिटल कपीमा सहरी मन्त्रालयअन्तर्गत १ लाखदेखि ५ लाखसम्मका योजनामा रकम विनियोजन गरेको भेटिएको उनले बताए ।

    "सहरी विकास मन्त्रीले नै अनौपचारिक रुपमा २५ लाखसम्मका योजना रहेको स्वीकार गर्नुभएको छ । तर, रातो किताबको डिजिटल कपीमा एक लाखदेखि ५ लाखसम्मका योजना बग्रेल्ती भेटिएका छन्," पुनले भने, "सरकारले भन्ने एउटा गर्ने अर्को गरेको छ ।"

    यस्तै उनले यसअघि प्रदेश र स्थानीय तहलाई दिइएको अधिकार सरकारले फेरि संघमा फिर्ता ल्याउन थालिएको बताए ।  
    पुनले संघीयतासम्बन्धी संविधानको मर्मविपरीत स्वास्थ्य, शिक्षा, ऊर्जा र वन मन्त्रालयअन्तर्गत तल दिइएका अधिकार फिर्ता ल्याइएको जनाए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend